सरकारले कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी निजी संस्थाहरूले सञ्चालन गर्दै आएका प्रवेश परीक्षा तयारी कक्षा तथा ब्रिज कोर्समाथि कडाइ गर्ने निर्णय गरेको छ। आगामी वैशाख १ गतेदेखि यस्ता कार्यक्रमहरू देशभर पूर्ण रूपमा बन्द गरिने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यस्ता कक्षाहरूले विद्यार्थीमा मानसिक दबाब बढाउने, शिक्षामा समान पहुँचमा असर पार्ने तथा अभिभावक र विद्यार्थीमाथि अनावश्यक आर्थिक भार थप्ने निष्कर्ष निकालिएको छ।
मन्त्रालयले जनाएअनुसार विद्यालय तथा कलेज भर्ना प्रक्रिया सुरु हुनुअघि नै केही संस्थाहरूले प्रवेश परीक्षालाई लक्षित गरी यस्ता कक्षा सञ्चालन गर्दै आएका थिए, जसले अस्वस्थ प्रतिस्पर्धा सिर्जना गरेको भन्दै रोक लगाइएको हो।
यस सम्बन्धमा चैत १३ गते मन्त्रीस्तरबाट निर्णय भइसकेको र कार्यान्वयनका लागि सबै सरोकारवालालाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिएका छन्।
अबदेखि कुनै पनि संस्थाले यस्ता कार्यक्रम सञ्चालन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिनेछ। साथै, यसको अनुगमनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयहरूलाई दिइएको मन्त्रालयले स्पष्ट पारेको छ।


प्रतिकृया