नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त राजन विक्रम थापा नेपाल राष्ट्र बैंकका अनुभवी अधिकारी हुन्। झण्डै तीन दशक केन्द्रीय बैंकमा बिताएका उनले बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण, नियमन, जोखिम व्यवस्थापन र संस्थागत सुशासनमा काम गरेका छन्। बीमा क्षेत्रको नियमन र नेतृत्व गर्ने जिम्मेवारीमा पुगेका थापासँग बीमा कम्पनीको सञ्चालक समितिमा रहेर काम गरेको अनुभवसमेत छ।
को हुन् राजन विक्रम थापा?
– करिब ३० वर्षको केन्द्रीय बैंकिङ अनुभव: थापाले सन् १९९७ मा नेपाल राष्ट्र बैंकमा सेवा सुरु गरेका थिए। त्यसयता उनले बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण, बैंक सुपरिवेक्षण, नियमन र संस्थागत योजना विभागमा विभिन्न जिम्मेवारी सम्हालेका छन्।
– हालसम्मको जिम्मेवारी: उनी सन् २०२५ देखि नेपाल राष्ट्र बैंकको कर्पोरेट योजना तथा जोखिम व्यवस्थापन विभागको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।
– बीमा क्षेत्रसँगको अनुभव: उनले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिमा सदस्य तथा लगानी समितिको संयोजकका रूपमा काम गरेका छन्। त्यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समिति र लगानी समितिमा समेत जिम्मेवारी सम्हालेका छन्।
– शैक्षिक योग्यता: थापाले व्यवस्थापनमा एमफिल, अर्थशास्त्रमा स्नातकोत्तर, व्यवस्थापनमा एमबीए र कानुनमा स्नातक गरेका छन्। उनले भारतको सिंघानिया विश्वविद्यालयबाट नेपाली बैंकहरूमा संस्थागत सुशासनले जोखिम व्यवस्थापनमा पार्ने प्रभाव विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्। उक्त उपाधि हाल त्रिभुवन विश्वविद्यालयबाट समकक्षता मूल्याङ्कनको प्रक्रियामा छ।
– बैंकिङ क्षेत्रमा लेखन तथा अनुसन्धान: उनले सन् २००८ मा प्रकाशित ‘Principles and Practices of Nepalese Banking’ पुस्तकका सहलेखकका रूपमा काम गरेका छन्। उक्त पुस्तकले सन् २०१० मा सम्मानास बैंकिङ अवार्ड प्राप्त गरेको थियो। व्यवस्थापन तथा बैंकिङ विषयमा अर्को पुस्तक र विभिन्न अनुसन्धानमूलक लेखसमेत प्रकाशित गरेका छन्।

प्रतिकृया