नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै भोलि कात्तिक १९ गतेदेखि सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ। बैंकको टक्सार महाशाखा, बबरमहलबाट कात्तिक १९ र २० गते यी सामग्री बिक्री गर्न लागिएको हो।
राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एउटा सुनको असर्फी तथा १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन एक–एक थान खरिद गर्न पाइनेछ। एक व्यक्तिले बढीमा दुई थान मात्र खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
दुवै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मौज्दात रहेसम्म पङ्क्तिबद्ध सेवाग्राहीलाई बिक्री गरिनेछ। खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ।
सुनको असर्फी तथा चाँदीका मेडालियनको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिनेछ। राष्ट्र बैंकले यी सामग्रीको मूल्य दैनिक बिहान करिब ११ बजेपछि निर्धारण गर्ने भएकाले मूल्य तय भएपछि मात्रै बिक्री सुरु हुने जनाएको छ।


प्रतिकृया