२ हजार जनालाई तालिम दिने लक्ष्य राखिएको निःशुल्क AI तालिममा ६८ हजारभन्दा बढी आवेदन, सबैलाई तालिम दिने सरकारको निर्णय

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १८ गते
Advertisement Ads
२ हजार जनालाई तालिम दिने लक्ष्य राखिएको निःशुल्क AI तालिममा ६८ हजारभन्दा बढी आवेदन, सबैलाई तालिम दिने सरकारको निर्णय
Advertisement Ads

सरकारले सञ्चालन गर्न लागेको निःशुल्क एआई तालिममा ६८ हजारभन्दा बढी युवाले आवेदन दिएका छन्। सुरुमा दुई हजार जनालाई मात्र सहभागी गराउने लक्ष्य राखिएको भए पनि आवेदन अत्यधिक परेपछि आवेदन दिएका सबैलाई तालिममा समेट्ने निर्णय गरिएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले ‘Mastering AI with Effective Prompt Engineering’ विषयमा अनलाइन तालिम सञ्चालन गर्न लागेको हो। पहिलो चरणमा ४२ हजारभन्दा बढी र पुनः आवेदन खुला गरिएको अवधिमा थप २६ हजार ५०० भन्दा बढी आवेदन प्राप्त भएका छन्।

सुरुमा कात्तिक १८ र १९ गते चारवटा सत्र सञ्चालन गरी प्रत्येक सत्रमा ५०० जनाका दरले दुई हजार युवालाई तालिम दिने योजना थियो। तर, देशभरबाट आएको आवेदनलाई ध्यानमा राख्दै सबै आवेदकलाई सहभागी गराउने व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ।

तालिममा सहभागी हुने आवेदकलाई कक्षा सुरु हुनुभन्दा दुई घण्टाअघि एसएमएसमार्फत लिंक पठाइनेछ। उक्त लिंक प्राप्त गरेका आवेदकले दर्ता भएको नाम र मोबाइल नम्बरका आधारमा आवेदन फाराममा रोजेको सत्रमा सहभागी हुन सक्नेछन्। मोबाइल फोन वा ल्यापटपबाट प्रत्यक्ष अनलाइन कक्षामा जोडिन सकिने व्यवस्था गरिएको छ।

तालिममा ChatGPT, Claude लगायतका एआई उपकरण प्रयोग गर्ने तरिका, प्रभावकारी Prompt लेखन, इमेल तथा कार्यालयका कागजात तयार गर्ने, प्रेजेन्टेसन बनाउने, तस्बिर तथा छोटा भिडियो निर्माण गर्ने र एआईबाट प्राप्त जानकारीको सत्यता जाँच गर्ने विषय समेटिनेछन्।

Advertisement Ads

आधारभूत तहको यो तालिमले युवालाई एआई प्रविधिसँग परिचित गराउँदै अध्ययन, रोजगारी, दैनिक जीवन तथा व्यावसायिक काममा यसको प्रयोग गर्न सक्षम बनाउने लक्ष्य राखेको छ। प्रविधिको विकाससँगै बदलिँदो श्रम बजारमा आवश्यक डिजिटल सीप विस्तार गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले आईएनजी ग्रुप प्रालि र ज्ञान बजार अनलाइन प्रालिको सहकार्यमा तालिम सञ्चालन गर्न लागेको हो। प्रतिष्ठानले सहभागीलाई आफूले रोजेको सत्रको निर्धारित समयमा उपस्थित भई प्रत्यक्ष कक्षामा सहभागी हुन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स