भदौ १० गते चीन र नेपालको सीमाक्षेत्रमा आएको हिमाली सुनामीले भोटेकोशी क्षेत्रमा ठूलो विनाश निम्त्यायो। भोटेकोशीमा भएको घटनालाई सामान्य बाढी भनेर मात्र व्याख्या गर्नु कदाचित उपयुक्त हुँदैन। त्यो एउटा प्रलय नै थियो, जसले ठूलो जनधनको क्षति पुर्यायो। यस प्रलयको प्रत्यक्ष असर जलविद्युत् क्षेत्रमा पनि पर्यो।
रसुवामा आएको बाढीका कारण मात्रै ४३१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरियो। यो नेपालको कुल जडित विद्युत् क्षमताको करिब १० प्रतिशत हो। केही आयोजनामा प्रत्यक्ष क्षति पुगेको छ भने केही आयोजना प्रसारण संरचनामा आएको क्षतिका कारण राष्ट्रिय ग्रिडबाट बाहिरिएका छन्।
तर यही अवस्थाले क्षति नभएका अन्य जलविद्युत् आयोजनाका लागि भने फरक अवसर सिर्जना गरेको छ।
किन विगतमा जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् बेच्न पाउँदैनथे?
नेपालमा जलविद्युत् आयोजनाले उत्पादन गरेको बिजुली नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (PPA) अनुसार प्राधिकरणलाई बिक्री गर्ने गर्छन्। त्यसपछि नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रणालीमार्फत देशभित्र विद्युत् आपूर्ति गर्ने तथा आवश्यकताअनुसार भारत र बंगलादेशतर्फ विद्युत् निर्यात गर्ने व्यवस्था मिलाउँछ।
समस्या के थियो भने नेपालमा विद्युत् उत्पादन क्षमता तीव्र गतिमा बढ्दै गए पनि आन्तरिक विद्युत् खपत र निर्यात क्षमताले त्यसलाई सधैं धान्न सक्ने अवस्था थिएन। आन्तरिक विद्युत् खपत करिब २३०० देखि २४०० मेगावाटको आसपास र भारत तथा बंगलादेशतर्फको निर्यात करिब १२०० देखि १३०० मेगावाटको आसपास हुने अवस्थामा कुल खपत तथा निर्यात करिब ३५०० देखि ३७०० मेगावाट पुग्थ्यो। तर वर्षायाममा विद्युत् उत्पादन क्षमता करिब ४१०० मेगावाट पुग्दा प्रणालीमा करिब ३०० देखि ४०० मेगावाट विद्युत् बढी हुने अवस्था बन्ने गरेको थियो।
यस्तो अवस्थामा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न नेपाल विद्युत् प्राधिकरणलाई चुनौती हुने गरेको थियो। त्यसैले नदीमा पानीको बहाव उच्च हुने वर्षायाममा पनि कतिपय आयोजनालाई उत्पादन घटाउन लगाउने गरिएको थियो। विशेषगरी ‘take and pay’ प्रकृतिको PPA भएका आयोजनाको हकमा उत्पादित सम्पूर्ण विद्युत् खरिद गर्नुपर्ने बाध्यता नभएकाले प्राधिकरणले आवश्यकता तथा प्रणालीको अवस्थाअनुसार कम विद्युत् खरिद गर्ने गरेको थियो।
यसको प्रत्यक्ष असर रन–अफ–रिभर (ROR) आयोजनामा पर्थ्यो। ROR आयोजना नदीमा उपलब्ध पानीको प्रवाहअनुसार चल्ने भएकाले वर्षायाममा नदीमा पानी पर्याप्त हुँदा आयोजनाले पूर्ण क्षमतामा उत्पादन गर्न सक्छ। तर त्यही समयमा उत्पादित विद्युत् पूर्ण क्षमतामा बिक्री गर्न नपाउँदा आयोजनाको आम्दानी र नाफा प्रभावित हुने गरेको थियो।
यसपटक भने परिस्थिति फरक छ।
रासुवाको बाढीका कारण ४३१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएपछि विद्युत् प्रणालीमा उपलब्ध आपूर्तिको मात्रा घटेको छ। त्यसैले अहिले बाँकी आयोजनाबाट आउने विद्युत् व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणलाई विगतको तुलनामा सहज अवस्था बनेको छ। अहिले धेरै आयोजना पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन्।
यसले विशेषगरी ROR आयोजनालाई प्रत्यक्ष फाइदा पुर्याएको छ। नदीमा पानीको बहाव राम्रो भएको अवस्थामा आयोजनाले आफ्नो जडित क्षमताअनुसार उत्पादन गर्न र उत्पादित विद्युत् बिक्री गर्न पाउँदा विद्युत् बिक्रीको मात्रा बढ्छ। विगतमा पानी पर्याप्त हुँदाहुँदै पनि प्रणालीको माग र आपूर्तिको असन्तुलनका कारण उत्पादन कटौती गर्नुपरेका आयोजनाले यसपटक त्यही पानीबाट बढी विद्युत् उत्पादन गर्न पाएका छन्। त्यसैले पूर्ण क्षमतामा सञ्चालनको प्रभाव आयोजनाको उत्पादन, विद्युत् बिक्री, आम्दानी र अन्ततः नाफामा देखिन सक्छ।
ब्याजदर पनि जलविद्युत् क्षेत्रका लागि अर्को महत्वपूर्ण पक्ष हो।
जलविद्युत् आयोजना निर्माणमा सामान्यतः करिब ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको वित्तीय संरचना हुने गर्छ। त्यसैले आयोजनाको लागत र आम्दानीमा बैंकको ब्याजदरको ठूलो प्रभाव पर्छ। अहिले बैंकिङ प्रणालीमा कर्जाको ब्याजदर विगतको तुलनामा निकै न्यून अवस्थामा छ। जलविद्युत् आयोजनाले ठूलो रकम बैंकबाट ऋण लिने भएकाले ब्याजदर कम हुँदा आयोजनाको वित्तीय खर्च घट्छ।
ब्याजदरमा आएको कमीले विशेषगरी सञ्चालनमा आइसकेका र ठूलो ऋण तिर्न बाँकी रहेका आयोजनालाई प्रत्यक्ष फाइदा पुर्याउन सक्छ। ब्याज खर्च घट्दा आयोजनाको सञ्चालन नाफा बढ्न सक्छ, ऋण भुक्तानीमा सहजता आउन सक्छ र अन्ततः कम्पनीको नाफामा समेत त्यसको प्रभाव देखिन सक्छ। त्यसैले अहिलेको कम ब्याजदर जलविद्युत् कम्पनीका लागि अर्को सकारात्मक पक्ष बनेको छ।
यसपटक पानीको उपलब्धता पनि अर्को सकारात्मक पक्ष
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (IPPAN) का अध्यक्ष मोहनकुमार डाँगीका अनुसार असोजमा यसपटक ठूलो वर्षा भएको छ र त्यसपछि पनि साना–ठूला वर्षा भइरहने अवस्था देखिएको छ। असोजको बीचतिर परेको ठूलो वर्षाका कारण नदीहरूमा पानीको सतह उल्लेख्य रूपमा बढेको छ। त्यसपछि हुने थप वर्षाले पनि नदीको पानीको सतहलाई केही समय माथिल्लो स्तरमै राख्न सहयोग गर्नेछ।
यसरी हेर्दा रसुवाको बाढी र त्यसबाट जलविद्युत् क्षेत्रमा परेको क्षति एउटा ठूलो विपत्ति भए पनि, त्यसपछि बनेको विद्युत् प्रणालीको अवस्थाले प्रत्यक्ष क्षति नभएका आयोजनाका लागि भने फरक परिस्थिति सिर्जना गरेको छ। एकातर्फ बैंकको ब्याजदर न्यून हुनु, अर्कोतर्फ ४३१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएपछि बाँकी आयोजनाले पूर्ण क्षमतामा उत्पादन गर्न पाउनु र असोजको ठूलो वर्षापछि पनि नदीको बहाव राम्रो रहन सक्ने अवस्थाले जलविद्युत् कम्पनीहरूको उत्पादन र आम्दानीमा प्रभाव पार्न सक्ने देखिन्छ।

प्रतिकृया