अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन संस्था ग्लोबल फाइनान्सले सन् २०२६ को ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड’ सार्वजनिक गरेको छ। विश्वभरका केन्द्रीय बैंकका गभर्नरको वार्षिक कार्यसम्पादन मूल्यांकनका आधारमा तयार पारिएको प्रतिवेदनमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ‘बी’ ग्रेड पाएका छन्।
ग्लोबल फाइनान्सले सन् २०२५ जुलाई १ देखि सन् २०२६ जुन ३० सम्मको अवधिलाई आधार बनाएर गभर्नरहरूको कार्यसम्पादन मूल्यांकन गरेको हो। प्रतिवेदनमा मौद्रिक नीतिको प्रभावकारिता, वित्तीय क्षेत्रको नियमन तथा सुपरिवेक्षण, नीतिगत पारदर्शिता, केन्द्रीय बैंकको स्वायत्तता, आर्थिक पूर्वानुमान र राष्ट्रिय आर्थिक लक्ष्य प्राप्तिमा गरेको योगदानलाई मूल्यांकनको आधार बनाइएको छ।
प्रतिवेदनमा विश्वका प्रमुख केन्द्रीय बैंकका गभर्नरलाई ‘ए’ प्लसदेखि ‘एफ’ सम्मको ग्रेड दिइएको छ। जसमा ‘ए’ प्लस सबैभन्दा उत्कृष्ट र ‘एफ’ सबैभन्दा कमजोर श्रेणी हो। नेपालका गभर्नर डा. पौडेलले ‘बी’ ग्रेड प्राप्त गरेका हुन्।
पौडेल सन् २०२५ मेदेखि नेपाल राष्ट्र बैंकको गभर्नरको जिम्मेवारीमा छन्। उनको कार्यकालको प्रारम्भिक अवधिमा नेपालको बाह्य आर्थिक स्थायित्वमा उल्लेखनीय सुधार देखिएको प्रतिवेदनमा उल्लेख छ। मुद्रास्फीति तुलनात्मक रूपमा न्यून रहेको अवस्थामा राष्ट्र बैंकले नीतिगत दर ४.२५ प्रतिशत र बैंक दर ५.७५ प्रतिशत कायम गर्दै आर्थिक गतिविधिलाई सहयोग पुग्ने मौद्रिक नीति अवलम्बन गरेको पनि प्रतिवेदनले जनाएको छ।
सन् २०२६ को रिपोर्ट कार्डमा डेनमार्क र पेरुका केन्द्रीय बैंकका गभर्नरले सबैभन्दा उच्च ‘ए’ प्लस ग्रेड पाएका छन्। यस्तै, चिली, कोस्टारिका, ग्वाटेमाला, भारत, जमैका, पाराग्वे, सिंगापुर र दक्षिण अफ्रिकाका गभर्नरले ‘ए’ ग्रेड प्राप्त गरेका छन्।
अल्बानिया, अर्जेन्टिना, कम्बोडिया, चेक गणतन्त्र, डोमिनिकन गणतन्त्र, केन्या, कुवेत, मोरक्को, फिलिपिन्स, पोल्यान्ड, सर्बिया, स्विट्जरल्यान्ड, ताइवान र संयुक्त अरब इमिरेट्सका गभर्नरले ‘ए’ माइनस ग्रेड पाएका छन्।
त्यस्तै, अस्ट्रेलिया, बहामास, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, इजिप्ट, नाइजेरिया, श्रीलंका, जाम्बिया, अजरबैजान, बुल्गेरिया, युरोपेली संघ, हंगेरी, नर्वे, जोर्डन र साउदी अरेबियाले ‘बी’ प्लस ग्रेड पाएका छन्। नेपालसहित आर्मेनिया, बोस्निया तथा हर्जगोभिना, बहराइन, कतार, स्विडेन, टर्की र बेलायतका गभर्नरले ‘बी’ ग्रेड प्राप्त गरेका छन्।
यसैगरी, पाकिस्तान, दक्षिण कोरिया र नियालान्डले ‘बी’ माइनस ग्रेड पाएका छन्। अंगोला, घाना, मौरिटानिया र मोजाम्बिकले ‘सी’ प्लस, मध्य अफ्रिकी राज्यहरूको बैंक, गाम्बिया, जर्जिया र रुवान्डाले ‘सी’ तथा आइसल्यान्डले ‘सी’ माइनस ग्रेड प्राप्त गरेका छन्। ट्युनिसियाले भने ‘डी’ प्लस ग्रेड पाएको छ।

प्रतिकृया