नेपाल राष्ट्र बैंकले सुनका असर्फीको मौज्दात सकिएपछि आज शुक्रबार बिक्री नगर्ने भएको छ। तिहारलाई लक्षित गर्दै बिहीबारदेखि बिक्री सुरु गरिएको सुनका असर्फी पहिलो दिनमै सकिएका हुन्।
राष्ट्र बैंकले बिहीबार पहिलो दिन कर्मचारीसमेतलाई गरी ४ हजार ५०० वटा असर्फी बिक्री गरेको थियो। प्रक्रियागत जटिलता र झन्झटका कारण बिक्रीयोग्य असर्फीको संख्या निकै कम रहेकाले बिहीबार नै मौज्दात सकिएको हो।
यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग ३५ किलो सुन खरिद गरेर सुनका असर्फीसहित चाँदीका मेडालियन बिक्रीमा ल्याएको थियो। केन्द्रीय बैंकले हरेक वर्ष धनतेरसका अवसरमा सुन तथा चाँदीका सिक्का बिक्री गर्दै आएको छ। गत वर्ष भने सुनको मौज्दात नभएका कारण चाँदीका मेडालियन मात्रै बिक्री गरिएको थियो।
बिहीबार राष्ट्र बैंकले एक व्यक्तिलाई एकवटा सुनको असर्फी र दुईवटासम्म चाँदीका मेडालियन बिक्री गरेको थियो। सुनको असर्फी २.५ ग्राम र चाँदीको मेडालियन १० ग्राम तौलका छन्।
बिहीबार सुनको असर्फी प्रतिगोटा ६५ हजार ४०० रुपैयाँ र चाँदीको मेडालियन प्रतिगोटा ३ हजार ८०० रुपैयाँमा बिक्री गरिएको थियो। शुक्रबार भने चाँदीका मेडालियन मात्रै बिक्री हुनेछन्। राष्ट्र बैंकले शुक्रबारका लागि एक मेडालियनको मूल्य ३ हजार ७०० रुपैयाँ कायम गरेको छ।

प्रतिकृया