विद्यार्थीको फर्जी विवरण राखेर सरकारी अनुदान दुरुपयोगको आशंका, शिक्षा मन्त्रालयले थाल्यो छानबिन

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक २० गते
Advertisement Ads
विद्यार्थीको फर्जी विवरण राखेर सरकारी अनुदान दुरुपयोगको आशंका, शिक्षा मन्त्रालयले थाल्यो छानबिन
Advertisement Ads

विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा २ लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको भेटिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ। दोहोरो विवरणका आधारमा सरकारी अनुदान तथा अन्य सुविधाको दुरुपयोग भएको हुन सक्ने आशंकामा मन्त्रालयले पाँच सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरेको हो।

मन्त्रीस्तरीय निर्णयबाट बिहीबार गठन गरिएको समितिलाई प्रणालीमा देखिएका दोहोरो विवरणको सत्यतथ्य अध्ययन गरी दोषीमाथि आवश्यक कारबाहीका लागि सिफारिस गर्ने जिम्मेवारी दिइएको छ।

मन्त्रालयको खेलकुद तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, मन्त्रालयका कम्प्युटर इन्जिनियर विनोद न्यौपाने र कानुन अधिकृत निकिता दाहाल सदस्य रहेका छन्। त्यस्तै, विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मीलाई सदस्य-सचिवको जिम्मेवारी दिइएको छ।

मन्त्रालयको अनौपचारिक अध्ययनअनुसार IEMIS प्रणालीमा २ लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको छ। यस्ता विवरणका आधारमा राज्यकोषबाट वितरण हुने अनुदान, छात्रवृत्ति, दिवा खाजा, पोसाक, पाठ्यपुस्तक तथा अन्य सेवा-सुविधाको दुरुपयोग भएको हुन सक्ने मन्त्रालयको आशंका छ।

यस विषयलाई गम्भीरतापूर्वक लिँदै शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले थप छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएका छन्।

Advertisement Ads

“हामीले यस विषयलाई गम्भीरताका साथ हेरेका छौँ। यसरी दोहोरो विवरण भरेर रकम दुरुपयोग भइरहेको देखिन्छ। अब यसबारे थप छानबिन गरेर दोषीलाई कारबाही हुन्छ,” मन्त्री पोखरेलले भने।

समितिले प्रणालीमा यति ठूलो संख्यामा विद्यार्थीको विवरण दोहोरिनुमा प्राविधिक कमजोरी रहेको हो वा नियतवश गलत विवरण प्रविष्ट गरिएको हो भन्ने विषयमा विस्तृत अध्ययन गर्नेछ।

गलत तथ्याङ्क पेस गरी राज्यकोषको रकम दुरुपयोग गर्ने विद्यालय, व्यवस्थापक वा जिम्मेवार व्यक्तिलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयसमक्ष सिफारिस गर्ने कार्यादेशसमेत समितिलाई दिइएको छ।

मन्त्रालयले प्रणालीमा रहेका दोहोरो तथा फर्जी विवरण हटाएर IEMIS लाई पारदर्शी, सुरक्षित र वास्तविक तथ्याङ्कमा आधारित बनाउने उद्देश्यले छानबिन अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स