नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदी नियुक्त भएका छन्। बैंकिङ, वित्तीय व्यवस्थापन र संस्थागत सुशासनमा लामो अनुभव भएका सुवेदी कृषि विकास बैंकका उपमहाप्रबन्धक हुन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसमा सुवेदीलाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सीईओ सुवेदीलाई आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
को हुन् प्रताप सुवेदी?
पर्वतको कुश्मा नगरपालिका–११ स्थायी घर भएका सुवेदीसँग बैंकिङ क्षेत्रमा तीन दशकभन्दा लामो कार्यअनुभव छ। उनले आफ्नो अधिकांश व्यावसायिक समय कृषि विकास बैंकमा बिताएका छन्।
सुवेदी हाल कृषि विकास बैंकमा मानव संसाधन तथा सेवा विभागका उपमहाप्रबन्धकका रूपमा कार्यरत थिए। यसअघि उनले बैंकको प्रमुख सञ्चालन अधिकृत (सीओओ) तथा प्रमुख कर्जा अधिकृत (सीसीओ) को जिम्मेवारीसमेत सम्हालेका थिए।
उनले २०७९ सालमा करिब दुई महिना बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।
बैंकको कर्जा व्यवस्थापन, निक्षेप परिचालन, डिजिटल बैंकिङ, मानव संसाधन, सञ्चालन तथा संस्थागत सुशासनका क्षेत्रमा उनले काम गरेको अनुभव छ। बैंकको ऋण लगानी, गैरनिष्क्रिय कर्जा (एनपीएल) व्यवस्थापन र आम्दानी तथा नाफा वृद्धिसम्बन्धी काममा समेत उनी संलग्न थिए।
शैक्षिक तथा अन्य अनुभव
सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका छन्। उनले पोखरास्थित पृथ्वीनारायण क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातकसमेत गरेका छन्।
कृषि विकास बैंकबाहेक उनले नेपाल राष्ट्र बैंक र कर्मचारी सञ्चय कोषमा समेत काम गरेका छन्। उनी नेको इन्स्योरेन्सका सञ्चालक समिति सदस्यसमेत हुन्। यसअघि साना किसान विकास लघुवित्त र डीप्रोक्स लघुवित्तको सञ्चालक समिति सदस्यको जिम्मेवारी पनि सम्हालेका थिए।
बैंकिङ क्षेत्रको लामो अनुभवसहित नेप्सेको नेतृत्वमा पुगेका सुवेदीका लागि अब नेपालको पुँजी बजारको विकास, प्रविधिगत सुधार, बजारको पारदर्शिता र लगानीकर्ताको विश्वास अभिवृद्धि प्रमुख चुनौतीका रूपमा रहनेछन्।

प्रतिकृया