सिंहदरबार वैद्यखानाको औषधि उत्पादन प्रणालीलाई गुणस्तरीय र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन दुई मन्त्रालयबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच भएको छलफलमा वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने विषयलाई प्राथमिकता दिइएको हो।
छलफलमा वैद्यखानाको अनुसन्धान प्रयोगशाला विकास, उत्पादित औषधिको गुणस्तर सुधार र औषधि निर्यातको सम्भावनाबारे कुराकानी भएको छ। साथै, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का मापदण्डअनुसार औषधि उत्पादन प्रणाली स्तरोन्नति गर्ने विषयमा पनि छलफल भएको छ।
वैद्यखानाको उत्पादन प्रक्रियालाई व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै संस्थागत क्षमता विकास गर्न दुवै मन्त्रालयले आवश्यक सहकार्य अघि बढाउने विषयमा समेत सहमति जुटाउने प्रयास भएको छ। यसका लागि दुई मन्त्रालयबीच समझदारीपत्र (एमओयू) गर्ने विषय पनि छलफलमा उठेको छ।
छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव दीनानाथ मिश्रको समेत सहभागिता रहेको थियो।

प्रतिकृया