कुकुर तिहारको रिल बनाएर १ लाख जित्ने मौका, यसरी हुनुहोस् सहभागी

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १८ गते
Advertisement Ads
कुकुर तिहारको रिल बनाएर १ लाख जित्ने मौका, यसरी हुनुहोस् सहभागी
Advertisement Ads

नेपाल पर्यटन बोर्डले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना गर्ने भएको छ। कुकुर तिहारको सांस्कृतिक महत्त्व र नेपाली परम्परालाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’को डिजिटल माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन गर्ने योजनाअनुसार प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। यसअघि दशैंको अवसरमा देशभरका १०० स्थानमा लिङ्गे पिङ राखिएको थियो।

प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो रिल तयार गरी आफ्नो फेसबुक वा इन्स्टाग्राममा सार्वजनिक गर्नुपर्नेछ। उत्कृष्ट रिल बनाउने सहभागीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिताका लागि तयार पारिने भिडियो अंग्रेजी भाषामा हुनुपर्नेछ। भिडियोमा अंग्रेजी सबटाइटल वा अंग्रेजी भाषाको भ्वाइसओभर अनिवार्य गरिएको छ। सहभागीले भिडियो पोस्ट गर्दा #NepalFestival र #KukurTihar ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। इन्स्टाग्राममा @nepaltourism लाई ट्याग गर्नुपर्नेछ भने फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्नेछ।

सामाजिक सञ्जालमा प्रकाशित भिडियोसँगै डाउनलोड तथा हेर्न मिल्ने अनुमति दिइएको गुगल ड्राइभ लिंक [email protected] मा इमेल गर्नुपर्नेछ। भिडियो सहभागी स्वयंले तयार पारेको मौलिक सिर्जना हुनुपर्नेछ। प्रतियोगितामा सहभागी हुन भिडियो पठाउने अन्तिम मिति सन् २०२६ नोभेम्बर २१ तोकिएको छ।

Advertisement Ads

नेपालमा तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई टीका, माला र मीठा परिकार खुवाएर पूजा गर्ने परम्परा छ। कुकुरलाई निष्ठा, सुरक्षा र आत्मीयताको प्रतीकका रूपमा सम्मान गरिने यस पर्वको विशेषतालाई डिजिटल सामग्रीमार्फत विश्वभर चिनाउने प्रतियोगिताको लक्ष्य छ।

प्रतियोगितामा प्राप्त भिडियोहरू नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धन, प्रचारप्रसार तथा डिजिटल सञ्चारका विभिन्न माध्यममा प्रयोग गर्न सक्नेछ। डिजिटल माध्यमबाट नेपालको मौलिक संस्कृति र चाडपर्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयासस्वरूप प्रतियोगिता आयोजना गर्न लागिएको बोर्डले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स