कात्तिक २९ गतेदेखि आगामी मंसिर महिनासम्म ६ वटा कम्पनीका कुल २ करोड ८६ लाख ८४ हजार ६०७ कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ। लकइन अवधि समाप्त हुने सेयरमा संस्थापक, स्थानीय बासिन्दा, कर्मचारी तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को स्वामित्वमा रहेका सेयर छन्।
याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको कात्तिक २९ गते म्युचुअल फन्डका लागि छुट्याइएको १ लाख ५ हजार कित्ता सेयरको लकइन अवधि समाप्त हुँदैछ। कम्पनीको सार्वजनिक निष्काशनमार्फत बाँडफाँड गरिएको साधारण सेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। तर, एउटा सामूहिक लगानी कोषको योजना परिपक्व भइसकेकाले त्यसको स्वामित्वमा रहेको ९९५ कित्ता सेयर भने लकइन अवधि समाप्त हुनुअगावै फुकुवा भइसकेको छ।
भिजन लुम्बिनी ऊर्जा कम्पनीको सेयर लकइनबाट बाहिरिनेछ। कम्पनीको मंसिर ४ गते कुल १ करोड ६७ लाख ६२ हजार ८४० कित्ता सेयरको लकइन अवधि समाप्त हुँदैछ। यसमध्ये संस्थापक समूहको १ करोड ५३ लाख कित्ता, स्थानीय बासिन्दाको १४ लाख २४ हजार ५९० कित्ता र कर्मचारीको ३८ हजार २५० कित्ता सेयर रहेका छन्।
त्यस्तै, टक्सार पिखुवा खोला हाइड्रोपावर कम्पनीको मंसिर ५ गते म्युचुअल फन्डको स्वामित्वमा रहेको १ लाख ४९ हजार ३२ कित्ता सेयरको लकइन अवधि समाप्त हुँदैछ। कम्पनीले म्युचुअल फन्डका लागि छुट्याएको सेयरमध्ये दुईवटा योजना परिपक्व भएपछि २ हजार ५०१ कित्ता सेयर यसअघि नै फुकुवा भइसकेको छ।
स्नो रिभर्स लिमिटेडको मंसिर ११ गते म्युचुअल फन्डका लागि छुट्याइएको ४६ हजार ८७५ कित्ता सेयरको लकइन अवधि समाप्त हुनेछ।
यसैगरी, मुक्तिनाथ कृषि कम्पनीको मंसिर १८ गते कुल ६० लाख ९३ हजार ३६० कित्ता सेयरको लकइन अवधि समाप्त हुँदैछ। यसमध्ये संस्थापक समूहको ६० लाख ४८ हजार कित्ता र कर्मचारीको ४५ हजार ३६० कित्ता सेयर रहेका छन्। यद्यपि, सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको सेयरमा भने नियामकीय व्यवस्थाअनुसार रोक्का कायम रहनेछ।
नेपाल वेयरहाउजिङ कम्पनीको पनि मंसिर १८ गते ५५ लाख २७ हजार ५०० कित्ता सेयरको लकइन अवधि समाप्त हुँदैछ। यसमध्ये संस्थापक समूहको ५५ लाख कित्ता र कर्मचारीको २७ हजार ५०० कित्ता सेयर रहेका छन्। कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको सेयर भने रोक्का रहनेछ।

प्रतिकृया