चार वर्षमा इसेवाको नाफा तेब्बर, सफल कार्यकाल पूरा गरेर बाहिरिए खड्का
चार वर्षअघि जगदीश खड्का इसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्दा इसेवा मुख्यतः डिजिटल भुक्तानीका लागि प्रयोग हुने वालेटका रूपमा परिचित थियो। बिल भुक्तानी, मोबाइल रिचार्ज, रकम पठाउने तथा क्यूआरमार्फत भुक्तानी गर्ने सेवा यसको मुख्य प्रयोगमा थिए।
खड्काको चार वर्षे कार्यकाल असोज ११, २०८३ मा पूरा हुँदै छ। यस अवधिमा इसेवाको सेवा भुक्तानीमा मात्र सीमित रहेन। ऋण, बचत, लगानी, व्यक्तिगत वित्त व्यवस्थापन, व्यवसायिक समाधान, समावेशी वित्तीय सेवा र प्रविधि पूर्वाधारसम्म कम्पनीको दायरा विस्तार भएको छ।
खड्का २०७९ असोज १२ गते इसेवाको सीईओ नियुक्त भएका थिए। चार वर्षको अवधिमा इसेवाका दर्ता भएका प्रयोगकर्ताको संख्या ८३ प्रतिशतले बढेको कम्पनीको तथ्यांक छ।

प्रयोगकर्ताको संख्या बढेसँगै इसेवाका सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। दैनिक सक्रिय प्रयोगकर्ता ४४३ प्रतिशतले बढेको छ। मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या १४५ प्रतिशतले र वार्षिक सक्रिय प्रयोगकर्ता ६८ प्रतिशतले बढेको छ।
केवाईसी प्रमाणीकरण गरेका प्रयोगकर्ताको संख्या पनि १५८ प्रतिशतले बढेको छ। त्यस्तै, मासिक रूपमा एप प्रयोग नगर्ने प्रयोगकर्ताको अनुपात अर्थात् चर्न रेट २५ प्रतिशतभन्दा माथिबाट घटेर ९ प्रतिशतमा झरेको छ।
यसले इसेवाले प्रयोगकर्ता थप्ने मात्र होइन, उनीहरूलाई प्लेटफर्ममा नियमित रूपमा जोडिराख्न पनि सफल भएको देखाउँछ।
आम्दानी र नाफामा पनि वृद्धि
प्रयोगकर्ता र सेवाको विस्तारसँगै इसेवाको वित्तीय कारोबार पनि बढेको छ।
कम्पनीको आन्तरिक विवरणअनुसार खड्काको कार्यकालमा इसेवाको आम्दानी ३५० प्रतिशतभन्दा बढी र नाफा ३११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
भुक्तानीपछि कर्जातर्फ विस्तार
इसेवाको विस्तारको सबैभन्दा ठूलो परिवर्तन भुक्तानी सेवाबाट अन्य वित्तीय सेवातर्फको प्रवेश हो।
कम्पनीले यही अवधिमा डिजिटल कर्जा सेवा ‘इजीलोन’ सुरु गर्यो। सुरुमा इसेवा एजेन्टलाई लक्षित गरेर ल्याइएको यो सेवा पछि बैंक तथा अन्य साझेदारसँगको सहकार्यमा विस्तार गरिएको छ।
‘इजीलोन २.०’ अन्तर्गत अहिले ‘अहिले किन्ने, पछि तिर्ने’ सुविधा, पेशागत कर्जा, सूक्ष्म कर्जा तथा भर्चुअल क्रेडिट कार्डजस्ता सेवा थपिएका छन्। हालै इसेवाले अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ पनि सुरु गरेको छ।
बचत, लगानीदेखि व्यक्तिगत वित्त व्यवस्थापनसम्म
भुक्तानीपछि इसेवाले प्रयोगकर्ताको वित्तीय व्यवस्थापनसँग जोडिएका सुविधा पनि थपेको छ।
एपभित्रको ‘फाइनान्स ३६०’ मार्फत प्रयोगकर्ताले आफ्नो आम्दानी र खर्च हेर्न, बजेट बनाउन तथा खर्चको विश्लेषण गर्न सक्छन्। त्यसैगरी डिजिटल एसआईपी, म्युचुअल फन्ड र बचतसम्बन्धी सुविधा पनि थपिएका छन्।
दैनिक भुक्तानीलाई सहज बनाउन स्मार्ट पेमेन्ट क्यालेन्डर, स्वतः बिल भुक्तानी र ‘स्मार्टपे सेड्युलर’ जस्ता सुविधा पनि यही अवधिमा आएका छन्।
इसेवाले दृष्टिविहीन प्रयोगकर्ताका लागि ‘टकब्याक’ सुविधा, समूहगत खर्च व्यवस्थापनका लागि ‘इसेवा सर्कल’ र च्याट सुविधा पनि सार्वजनिक गरेको छ।
व्यवसायीका लागि भुक्तानी मात्र होइन, हिसाब पनि
इसेवाले साना तथा मध्यम व्यवसायीलाई लक्षित गर्दै नयाँ सुविधा पनि थपेको छ।
इसेवा बिजनेस एपभित्रको ‘लेनदेन’ सुविधामार्फत व्यवसायीले ग्राहकको उधारो कारोबारको डिजिटल रेकर्ड राख्न, बाँकी रकमको सूचना पठाउन र इसेवामार्फत भुक्तानी लिन सक्छन्।
क्यूआर भुक्तानीका लागि ‘ईस्पिकर’ तथा व्यवसायीलाई इसेवा प्लेटफर्ममै आफ्ना सेवा र ग्राहक लक्षित कार्यक्रम सञ्चालन गर्न दिने ‘मिनी एप’ सुविधा पनि थपिएका छन्।
दैनिक जीवनसँग जोडिएका सेवा विस्तार
खड्काको कार्यकालमा इसेवाले वित्तीय सेवासँगै दैनिक जीवनमा प्रयोग हुने सेवाको दायरा पनि विस्तार गरेको छ।
इसेवा एपमा अन्तर्राष्ट्रिय उडान, होटल, बस, केबलकार, चलचित्र, ई-सिम तथा स्वास्थ्य सेवासँग सम्बन्धित सुविधा थपिएका छन्। होटल बुकिङलाई सहज बनाउन ‘इसेवा होटल्स’ को पुनःडिजाइन र सुधार गरिएको छ।
त्यस्तै, स्वास्थ्य तथा सुरक्षासँग सम्बन्धित सेवाअन्तर्गत ‘इसेवा केयर’, ‘इसेवा लाइफ केयर’ र ‘सुपर टर्म लाइफ’ जस्ता सेवा पनि थपिएका छन्।
प्रयोगकर्तालाई नगद आवश्यक पर्दा इसेवा खाताबाट एटीएममार्फत रकम झिक्न सकिने सुविधा पनि यही अवधिमा विस्तार गरिएको छ।
नेपालबाहिरबाट हुने भुक्तानीदेखि अन्तर्राष्ट्रिय पहुँचसम्म
खड्काको कार्यकालमा इसेवाले भुक्तानीको पहुँच पनि विस्तार गरेको छ।
भारतीय प्रयोगकर्ताका लागि यूपीआईमार्फत इसेवा बिजनेस क्यूआरमा भुक्तानी स्वीकार गर्ने व्यवस्था सुरु भएको छ। अलिपे प्लससँगको सहकार्यपछि अन्य अन्तर्राष्ट्रिय वालेटमार्फत पनि इसेवा बिजनेस क्यूआरमा भुक्तानी स्वीकार गर्ने सुविधा विस्तार गरिएको छ।
एपदेखि ग्राहक सहायता प्रणालीसम्म परिवर्तन
सेवा बढेसँगै इसेवाले प्रयोगकर्ताको डिजिटल अनुभवमा पनि परिवर्तन गरेको छ।
कम्पनीले मुख्य ल्यान्डिङ पेजको पुनःडिजाइन गरेको छ भने होटल सेवाको इन्टरफेस र अनुभवमा पनि सुधार गरेको छ। प्रयोगकर्ताले एपभित्रै सहायता लिन सक्ने ‘इन-एप सपोर्ट’ सुविधा थपिएको छ।
त्यस्तै, इसेवाको भर्चुअल सहायक ‘ईभीए’ अर्थात् च्याटबटलाई प्रयोगकर्ता सहायता प्रणालीमा समेटिएको छ।
कम्पनीले आन्तरिक कामको गति र सञ्चालन क्षमता बढाउन विभिन्न प्रक्रियामा स्वचालनसमेत विस्तार गरेको जनाएको छ। यसबाट नियमित सञ्चालनका केही कामलाई स्वचालित बनाउने, समय घटाउने तथा आन्तरिक कार्यक्षमता सुधार गर्ने प्रयास गरिएको छ।
बढ्दो कारोबार धान्न प्रविधि र पूर्वाधारमा पनि लगानी
सेवा, प्रयोगकर्ता र कारोबार बढ्दै गएपछि इसेवाले आफ्नो प्राविधिक पूर्वाधार र सुरक्षा प्रणालीमा पनि लगानी बढाएको छ।
इसेवाले पहिले मुख्य डेटा सेन्टरमा समस्या आएपछि वैकल्पिक डेटा सेन्टरबाट सेवा सञ्चालन गर्ने व्यवस्था थियो। अहिले कम्पनीले दुवै डेटा सेन्टरलाई एकैसाथ सञ्चालन गर्न सकिने प्रणालीमा रूपान्तरण गरेको छ।
सुरक्षातर्फ आईएसओ २७००१:२०२२ मापदण्ड, क्रिप्टोग्राफिक भल्ट, पासेटोमा आधारित टोकन प्रणाली तथा कृत्रिम बुद्धिमत्ता र मेशिन लर्निङमा आधारित कारोबार निगरानी प्रणाली प्रयोगमा ल्याइएको छ।
ब्रान्डको उद्देश्य र पहिचान पनि पुनःपरिभाषित
चार वर्षको अवधिमा परिवर्तन सेवा र प्रविधिमा मात्र सीमित रहेन। इसेवाले आफ्नो संस्थागत भिजन, मिसन, उद्देश्य र ब्रान्ड वाचासमेत पुनःपरिभाषित गरेको छ।
कम्पनीको नयाँ भिजन “To foster a trusted digital financial ecosystem that empowers generations” रहेको छ।
मिसन “To provide secured and simplified digital financial solutions” र उद्देश्य “Democratizing financial services to bring every individual and entity to mainstream economy for inclusive growth” तय गरिएको छ।
त्यस्तै, कम्पनीको ब्रान्ड वाचा “सबै। सधैं। सँगै।” रहेको छ।
चार वर्षमा राष्ट्रिय र अन्तराष्ट्रियस्तरका पहिचान
खड्काको कार्यकालमा इसेवाले व्यवसाय तथा प्रविधिसम्बन्धी विभिन्न राष्ट्रिय पहिचान पनि प्राप्त गरेको छ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ‘बेस्ट म्यानेज्ड आईटी कम्पनी अफ द इयर’ को पुरस्कार पाएको थियो। त्यस्तै, हालै भारतमा सम्पन्न ग्लोबल फिनटेक फेस्ट २०२६ मा इसेवाले ‘बेस्ट फिन्टेक फ्रम नेपाल’ सम्मान पाएको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा इसेवा आईसीटी क्षेत्रमा सर्वाधिक आयकर तिर्ने कम्पनीका रूपमा समेत सम्मानित भएको थियो।
चार वर्षमा बदलिएको इसेवा
खड्काको चार वर्षे कार्यकालमा इसेवाको विस्तार प्रयोगकर्ता र कारोबारको वृद्धिमा मात्र सीमित रहेन।

भुक्तानीबाट सुरु भएको इसेवा ऋण, बचत तथा लगानी, व्यक्तिगत वित्त व्यवस्थापन, व्यवसायिक समाधान, स्वास्थ्य तथा जीवन बीमा, अन्तर्राष्ट्रिय भुक्तानी, समावेशी वित्तीय सेवा र प्रविधि पूर्वाधारसम्म फैलिएको छ।
यस अवधिमा एटीएमबाट रकम झिक्ने सुविधा, डिजिटल कर्जा, ईस्पिकर, ईभीए, इन-एप सपोर्ट, इसेवा केयर, होटल सेवाको पुनःडिजाइन तथा आन्तरिक स्वचालनजस्ता परिवर्तनले पनि कम्पनीको सेवा संरचना विस्तार गरेको छ।
चार वर्षअघिको मुख्यतः ‘डिजिटल वालेट’को परिचयबाट इसेवा अहिले विभिन्न वित्तीय तथा दैनिक सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराउने डिजिटल वित्तीय प्लेटफर्मका रूपमा अघि बढेको छ।

प्रतिकृया