अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले बोनस सेयरको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्तावसमेत आगामी वार्षिक साधारणसभामा पेस गर्ने भएको छ।
कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १८ गते शुक्रबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे २३औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो।
कम्पनीको हाल कायम चुक्ता पुँजी ६ अर्ब ३७ करोड ९७ लाख २४ हजार १९९ रुपैयाँको ५ प्रतिशत अर्थात् ३१ करोड ८९ लाख ८६ हजार २०९ रुपैयाँ ९५ पैसाबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ। यसअनुसार कम्पनीले ३१ लाख ८९ हजार ८६२.१० कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
त्यस्तै, बोनस सेयरको कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.२६३२ प्रतिशत अर्थात् १ करोड ६७ लाख ८८ हजार ७४८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा पेस हुनेछ।
३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने पुरानो निर्णय रद्द गरिने
अपि पावरले यसअघि पारित गरेको ३० प्रतिशत हकप्रद सेयर निष्काशनसम्बन्धी निर्णय रद्द गर्ने प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ।
कम्पनीको २२औँ वार्षिक साधारणसभाले विद्यमान चुक्ता पुँजीको १ कित्ता बराबर ०.३० कित्ताका दरले हकप्रद सेयर निष्काशन गरी त्यसबाट प्राप्त रकम दिव्यज्योति हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना निर्माणमा लगानी गर्ने निर्णय गरेको थियो।
तर, हकप्रद सेयर निष्काशनका लागि नियामकीय अनुमति प्राप्त गर्न लामो समय लाग्ने देखिएपछि आयोजना निर्माणमा ढिलाइ हुने अवस्था आएको कम्पनीले जनाएको छ। कम्पनीको आन्तरिक नगद प्रवाह, बैंक ऋण तथा अन्य स्रोतबाट आयोजनाका लागि आवश्यक स्वपुँजी व्यवस्थापन भइसकेकाले यसअघि निर्णय गरिएको १ः०.३० अनुपातको हकप्रद सेयर निष्काशन रद्द गर्ने प्रस्ताव गरिएको हो।
प्रबन्धपत्र संशोधनदेखि ऋण अनुमोदनसम्मका प्रस्ताव
बोनस सेयर जारी गर्दा कम्पनीको पुँजी संरचनामा वृद्धि हुने भएकाले प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
यसैगरी, कम्पनी ऐन, २०६३ अनुसार बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण अनुमोदन गर्ने र आर्थिक वर्ष २०८२/८३ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको खर्च अनुमोदन गर्ने प्रस्तावसमेत विशेष प्रस्तावका रूपमा राखिएको छ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्ने र आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेस हुनेछ।
त्यस्तै, सञ्चालक समितिमा रिक्त रहेको पदमा समितिबाट गरिएको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव रहेको छ।
मंसिर ८ गते बुक क्लोज
साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर ८ गते एक दिन सेयर दाखिला खारेज किताब बन्द गर्ने भएको छ। त्यसैले मंसिर ७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई निर्धारित प्रक्रियाअनुसार सेयरधनी दर्ता किताबमा कायम भएका सेयरधनीले सभामा सहभागी हुन पाउनेछन्।

प्रतिकृया