माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले आगामी मंसिर २१ गते तेह्रौँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने तथा महिला सञ्चालक निर्वाचित गर्नेलगायतका प्रस्ताव पेस हुनेछन्।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, २०८३ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८२/८३ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू लेखापरीक्षकको प्रतिवेदनसहित पारित गरिनेछ।
यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महिला सञ्चालक निर्वाचित गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
सभामा केही विशेष प्रस्तावसमेत छलफलका लागि राखिएका छन्। कम्पनीको उद्देश्य थप गरी प्रबन्धपत्र संशोधन गर्ने तथा सेयरको समूह विभाजनसम्बन्धी प्रबन्धपत्रको दफा ६ (५) र ६ (६) एवं नियमावलीको नियम ३१ (१) र ३१ (२) संशोधन गर्ने प्रस्ताव रहेको छ।
त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधनका क्रममा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन आएमा सोहीअनुसार आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि साधारणसभामा पेस हुनेछ।
बुक क्लोज र सभा सहभागिता
साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर ८ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। त्यसैले नेपाल स्टक एक्सचेन्जमा मंसिर ७ गतेसम्म कारोबार भई नाममा सेयर कायम भएका सेयरधनीले सभामा सहभागी हुन पाउनेछन्।

प्रतिकृया