सेयर बजारमा इन्डिकेटरको सही प्रयोग कसरी गर्ने ? [भिडियोसहित]

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक २० गते
Advertisement Ads
Advertisement Ads

सेयर बजारमा लगानी तथा कारोबार गर्दा कम्पनीको मूल्य बढ्दै छ वा घट्दै छ भन्ने मात्रै हेरेर पुग्दैन। बजार कुन दिशामा अघि बढिरहेको छ, मूल्यमा कति गति छ र बजारको ट्रेन्ड परिवर्तन हुने सम्भावना छ कि छैन भन्ने कुरा पनि बुझ्न आवश्यक हुन्छ। यसका लागि प्राविधिक विश्लेषण (Technical Analysis) मा विभिन्न इन्डिकेटर प्रयोग गरिन्छन्।

प्राविधिक विश्लेषणमा प्रयोग हुने यस्तै महत्वपूर्ण इन्डिकेटरमध्ये एक हो एमएसीडी (MACD)। यसको पूरा रूप मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (Moving Average Convergence Divergence) हो। यो दुईवटा एक्सपोनेन्सियल मुभिङ एभरेज (EMA) को आधारमा तयार हुने मोमेन्टम इन्डिकेटर हो।

एमएसीडी मुख्य रूपमा १२ र २६ पिरियडको एक्सपोनेन्सियल मुभिङ एभरेजबीचको अन्तरबाट तयार हुन्छ। त्यसबाट प्राप्त एमएसीडी लाइनको ९ पिरियडको एक्सपोनेन्सियल मुभिङ एभरेज निकालेर सिग्नल लाइन बनाइन्छ। यसमा एउटा फास्ट लाइन र अर्को स्लो लाइन हुन्छ। एमएसीडी लाइनलाई फास्ट लाइन र सिग्नल लाइनलाई स्लो लाइनका रूपमा बुझ्न सकिन्छ।

एमएसीडीको प्रयोगबाट बजारको मोमेन्टम बुलिस छ वा बियरिस छ भन्ने थाहा पाउन सकिन्छ। एमएसीडी शून्य रेखाभन्दा माथि छ भने बजारमा बुलिस मोमेन्टम रहेको र शून्य रेखाभन्दा तल छ भने बियरिस मोमेन्टम रहेको बुझिन्छ। त्यस्तै, यसको स्लोप माथितिर छ वा तलतिर छ भन्ने कुराले मोमेन्टम बलियो हुँदै छ वा कमजोर हुँदै छ भन्ने संकेत गर्छ।

एमएसीडीबाट खरिद तथा बिक्री संकेत कसरी पाउने ?

Advertisement Ads

एमएसीडी प्रयोग गर्ने सबैभन्दा आधारभूत तरिका यसको दुईवटा लाइनबीच हुने क्रसओभर हो। जब एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट माथितिर क्रस गर्छ, त्यसलाई बुलिस क्रसओभर भनिन्छ। यसले खरिदको संकेत गर्छ। यसको विपरीत एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट तलतिर क्रस गरेमा त्यसलाई बियरिस क्रसओभर भनिन्छ। यसले बिक्रीको संकेत दिन्छ।

त्यस्तै, एमएसीडीको शून्य रेखा (Zero Line) क्रसलाई पनि खरिद तथा बिक्री संकेतका रूपमा प्रयोग गर्न सकिन्छ। एमएसीडी लाइन नेगेटिभ जोनबाट शून्य रेखाभन्दा माथि पुग्दा बजारको मोमेन्टम बियरिसबाट बुलिसतर्फ परिवर्तन हुँदै गएको संकेत मिल्छ। त्यसैगरी, पोजेटिभ जोनबाट शून्य रेखाभन्दा तल झर्दा बजारको मोमेन्टम बियरिसतर्फ परिवर्तन भएको बुझ्न सकिन्छ।

तर यी संकेतलाई मात्रै आधार मानेर खरिद बिक्रीको निर्णय गर्नु उचित हुँदैन। बजारको समग्र ट्रेन्डसँग एमएसीडीको संकेत मिलेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुन्छ।

एमएसीडीको हुक प्याटर्नले पनि दिन्छ संकेत

एमएसीडीमा देखिने अर्को महत्वपूर्ण संरचना हुक प्याटर्न हो। बजारमा बियरिस क्रसओभर भएपछि एमएसीडी लाइन पुनः सिग्नल लाइनको नजिक पुग्छ तर त्यसलाई माथिबाट क्रस गर्न नसकी फेरि तल फर्किन्छ भने त्यसलाई बियरिस हुक प्याटर्न भनिन्छ। यसले बजारमा बिक्री दबाब अझै बलियो रहेको संकेत गर्न सक्छ।

त्यस्तै, बुलिस ट्रेन्डमा एमएसीडी लाइनले सिग्नल लाइनलाई माथितिर क्रस गरेपछि पुनः तल झरेर सिग्नल लाइनको नजिक पुग्छ तर तल क्रस नगरी फेरि माथितिर फर्किन्छ भने बुलिस हुक प्याटर्न बन्न सक्छ। यस्तो अवस्था सम्भावित खरिद अवसरका रूपमा हेर्न सकिन्छ।

विशेषगरी बुलिस ट्रेन्डमा हायर लो (Higher Low) बनेको अवस्थामा बुलिस हुक देखिएमा र बियरिस ट्रेन्डमा लोअर हाई (Lower High) बनेको अवस्थामा बियरिस हुक देखिएमा त्यसलाई थप महत्वपूर्ण संकेतका रूपमा लिन सकिन्छ।

डाइभर्जेन्सले बजारको ट्रेन्ड परिवर्तनको संकेत गर्छ

मोमेन्टम इन्डिकेटरमा बुझ्नुपर्ने अर्को महत्वपूर्ण विषय डाइभर्जेन्स (Divergence) हो। मूल्यको चाल र मोमेन्टम इन्डिकेटरको चालबीच भिन्नता देखिनुलाई डाइभर्जेन्स भनिन्छ।

जब कुनै सेयरको मूल्यले अघिल्लो उच्च बिन्दुभन्दा माथि नयाँ उच्च बिन्दु बनाउँछ तर मोमेन्टम इन्डिकेटरले भने अघिल्लो उच्च बिन्दुभन्दा तल अर्को उच्च बिन्दु बनाउँछ, त्यसलाई बियरिस डाइभर्जेन्स भनिन्छ। यसले मूल्य बढिरहेको भए पनि त्यसको गति कमजोर हुँदै गएको संकेत गर्छ। यस्तो अवस्थाले सम्भावित ट्रेन्ड रिभर्सलको प्रारम्भिक संकेत दिन सक्छ।

त्यसैगरी, मूल्यले अघिल्लो न्यून बिन्दुभन्दा तल नयाँ न्यून बिन्दु बनाउँछ तर मोमेन्टम इन्डिकेटरले भने अघिल्लो न्यून बिन्दुभन्दा माथि अर्को न्यून बिन्दु बनाउँछ भने त्यसलाई बुलिस डाइभर्जेन्स भनिन्छ। यसले बजारमा बिक्री दबाब कमजोर हुँदै गएको र मूल्यमा सुधार आउन सक्ने सम्भावना रहेको संकेत गर्छ।

तर डाइभर्जेन्स देखिँदैमा बजार तत्कालै उल्टिन्छ भन्ने हुँदैन। बलियो बुलिस ट्रेन्डमा बियरिस डाइभर्जेन्स पटकपटक देखिए पनि मूल्य माथि जान सक्छ। त्यस्तै, बलियो बियरिस ट्रेन्डमा बुलिस डाइभर्जेन्स देखिँदैमा मूल्य तत्काल बढ्न थाल्छ भन्ने निश्चित हुँदैन। त्यसैले डाइभर्जेन्सलाई बजारको समग्र ट्रेन्डसँग जोडेर विश्लेषण गर्नुपर्छ।

डाइभर्जेन्सलाई मूल्यले कसरी पुष्टि गर्छ ?

डाइभर्जेन्स देखिएपछि कारोबार गर्नुअघि मूल्यमा पनि ट्रेन्ड परिवर्तनको संकेत आएको छ कि छैन भनेर हेर्नुपर्छ। उदाहरणका लागि, बुलिस डाइभर्जेन्स बनेको अवस्थामा बुलिस रिभर्सल क्यान्डलस्टिक प्याटर्न वा बुलिस फ्र्याक्टल बनेमा मूल्यले पनि सम्भावित परिवर्तनलाई समर्थन गरेको बुझ्न सकिन्छ।

फ्र्याक्टल पाँचवटा क्यान्डलबाट बन्ने मूल्यको एउटा प्याटर्न हो। पाँचवटा क्यान्डलमध्ये बीचको अर्थात् तेस्रो क्यान्डलको न्यून मूल्य बाँकी चारवटा क्यान्डलको न्यून मूल्यभन्दा तल छ भने त्यसलाई बुलिस फ्र्याक्टल भनिन्छ। त्यस्तै, बीचको क्यान्डलको उच्च मूल्य बाँकी चारवटा क्यान्डलको उच्च मूल्यभन्दा माथि छ भने त्यसलाई बियरिस फ्र्याक्टल भनिन्छ।

यसरी मूल्यको प्याटर्न र मोमेन्टम इन्डिकेटरबाट प्राप्त संकेतलाई एकसाथ विश्लेषण गर्दा कारोबारको निर्णय थप व्यवस्थित बनाउन सकिन्छ।

हिस्टोग्रामले देखाउँछ मोमेन्टमको अवस्था

एमएसीडीमा हिस्टोग्राम पनि देख्न सकिन्छ। यसले एमएसीडी लाइन र सिग्नल लाइनबीचको अन्तरलाई ग्राफिकल रूपमा प्रस्तुत गर्छ। एमएसीडी लाइन सिग्नल लाइनभन्दा माथि हुँदा हिस्टोग्राम सामान्यतया हरियो र तल हुँदा रातो देखिन्छ। हिस्टोग्रामको गाढा तथा हल्का रङले मोमेन्टमको बलियो वा कमजोर अवस्थालाई दृश्यात्मक रूपमा देखाउन मद्दत गर्छ।

यद्यपि, हिस्टोग्रामको प्रत्येक रङ परिवर्तनलाई खरिद वा बिक्रीको नयाँ संकेतका रूपमा लिनु उचित हुँदैन। यसले छोटो समयमै निर्णय लिन हतार गराउन सक्छ। त्यसैले सुरुवाती चरणमा एमएसीडीका दुईवटा लाइन र तिनको अवस्थालाई बुझ्न बढी ध्यान दिनुपर्छ।

ट्रेडिङमा धैर्यता र सही सेटअप किन आवश्यक छ ?

प्राविधिक विश्लेषणमा कुनै पनि इन्डिकेटरले सधैँ सही संकेत दिन्छ भन्ने हुँदैन। विशेषगरी बजार साइडवेज (Sideways) अवस्थामा रहेको बेला एमएसीडीले पटकपटक खरिद तथा बिक्री संकेत दिन सक्छ। यस्तो अवस्थामा कारोबार गर्दा ओभरट्रेडिङ हुने र अनावश्यक घाटा बेहोर्नुपर्ने सम्भावना रहन्छ।

इन्डिकेटरहरू ट्रेन्डिङ बजारमा तुलनात्मक रूपमा राम्रो काम गर्छन्। बुलिस ट्रेन्डमा बुलिस संकेत र बियरिस ट्रेन्डमा बियरिस संकेतलाई प्राथमिकता दिनु उपयुक्त हुन्छ। त्यसैले कुनै पनि इन्डिकेटर प्रयोग गर्दा बजारको समग्र ट्रेन्ड, हायर लो, लोअर हाई तथा मूल्यको चाललाई प्राथमिकता दिनुपर्छ।

प्राविधिक विश्लेषणमा सबैभन्दा महत्वपूर्ण कुरा मूल्य नै हो। मूल्यबाट प्राप्त हुने संकेत प्राथमिक हुन्छ भने इन्डिकेटरबाट प्राप्त हुने संकेतलाई सहायक रूपमा लिनुपर्छ। इन्डिकेटरमा खरिद संकेत देखियो भन्दैमा तत्काल सेयर खरिद गर्ने वा बिक्री संकेत देखियो भन्दैमा हतारमा बिक्री गर्ने बानीले घाटा निम्त्याउन सक्छ।

ट्रेडिङमा सफल हुन धेरै कारोबार गर्नुभन्दा राम्रो सेटअप कुरेर कारोबार गर्ने धैर्यता आवश्यक हुन्छ। लोभ र डरलाई नियन्त्रण गर्दै आफ्नो रणनीतिअनुसार कारोबार गर्न सके जोखिम व्यवस्थापनमा सहयोग पुग्छ। बजारमा नाफाको सम्भावना भए पनि कुनै पनि संकेत वा रणनीतिले नाफाको ग्यारेन्टी गर्दैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स