गण्डकी प्रदेश सरकारले बागलुङका विभिन्न ग्रामीण सडकमा १५ वटा बेलीब्रिज निर्माण गर्ने भएको छ। पक्की पुल नहुँदा वर्षायाममा खोलामा पानीको बहाव बढेसँगै यातायात अवरुद्ध हुने समस्या समाधान गर्न पुल निर्माण गर्न लागिएको हो।
चालू आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालय बागलुङमार्फत निर्माण प्रक्रिया अघि बढाइएको छ। प्रदेश सरकारले प्रत्येक पुलका लागि ४० लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको छ। हाल पुल निर्माणस्थलको सर्वेक्षण तथा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम भइरहेको छ।
योजनाअन्तर्गत निसीखोला गाउँपालिकामा पाँच, ढोरपाटन नगरपालिकामा चार तथा जैमिनी, काठेखोला, गलकोट, तमानखोला र बडिगाडमा गरी बाँकी पुल निर्माण गरिनेछ। लागतअनुसार दुईदेखि तीन वर्षभित्र सबै पुल सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
बेलीब्रिज निर्माण भएपछि वर्षायाममा सडक अवरुद्ध हुने समस्या कम हुनुका साथै ग्रामीण क्षेत्रको यातायात पहुँच सहज हुने अपेक्षा गरिएको छ।

प्रतिकृया