प्रम्प्ट इन्जिनियरिङसम्बन्धी निःशुल्क तालिम लिन चाहने युवाका लागि सरकारले आवेदन दिने अर्को अवसर दिएको छ। यसअघि गुगल फर्ममार्फत आवेदन खुलाउँदा अत्यधिक चाप परेपछि रोकिएको प्रक्रिया अब श्रमसंसार पोर्टलबाट अघि बढाइएको हो।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले ‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रम्प्ट इन्जिनियरिङ’ तालिमका लागि नयाँ फाराम उपलब्ध गराएको छ। इच्छुकले कात्तिक १७ गते दिउँसो ३ बजेसम्म श्रमसंसार पोर्टलमार्फत आवेदन दिन सक्नेछन्।
यसअघि आवेदन खुलेको २४ घण्टामै ४२ हजारभन्दा बढीले फाराम भरेका थिए। त्यसपछि गुगलले आफ्नो सेवा सर्त तथा नीतिसम्बन्धी कारण देखाउँदै उक्त फाराम निष्क्रिय पारेको थियो। त्यसलगत्तै सरकारले आफ्नै प्रणालीबाट आवेदन संकलन गर्ने व्यवस्था मिलाएको हो।
प्रतिष्ठानले पहिलो चरणमै सफलतापूर्वक आवेदन दिएका व्यक्तिको विवरण सुरक्षित रहेको जनाएको छ। उनीहरूले फेरि फाराम भर्नुपर्ने छैन। दोहोरो आवेदन नदिन एक व्यक्तिले एक पटक मात्रै फाराम भर्नसमेत आग्रह गरिएको छ।
यस तालिममा छनोट भएका २ हजार जनालाई आगामी बुधबार र बिहीबार चार चरणमा प्रशिक्षण दिने तयारी छ। सहभागी छनोटको जानकारी एसएमएसमार्फत पठाइनेछ।
आवेदन दिने लिंक: https://shramsansar.gov.np/prompt-training-form
आवेदन दिने अन्तिम समय: भोलि कात्तिक १७ गते दिउँसो ३ बजे

प्रतिकृया