टिकटकमार्फत विश्वभर नेपालको पर्यटन चिनाउँदै ७ देशका कन्टेन्ट क्रिएटर

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १५ गते
Advertisement Ads
टिकटकमार्फत विश्वभर नेपालको पर्यटन चिनाउँदै ७ देशका कन्टेन्ट क्रिएटर
Advertisement Ads

नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममार्फत प्रवर्द्धन गर्ने उद्देश्यले सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आइपुगेका छन्। नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, यूएई, बंगलादेश र श्रीलंकाका क्रिएटर नेपाल आएका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले डिजिटल माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएका छन्। सोही अभियानअन्तर्गत अन्तर्राष्ट्रिय क्रिएटरलाई नेपालका पर्यटकीय गन्तव्यको अनुभव गराएर नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक गतिविधिलाई विश्वभरका दर्शकमाझ पुर्‍याउन लागिएको हो।

क्रिएटरहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गरी त्यहाँका आकर्षण, स्थानीय जीवनशैली, संस्कृति, प्रकृति र पर्यटन गतिविधिसम्बन्धी भिडियो तथा डिजिटल सामग्री उत्पादन गर्नेछन्। ती सामग्री टिकटकसहितका सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले जानकारी दिएका छन्।

क्रिएटरहरूमध्ये यूएई र ट्युनिसियाका तीन जना फ्लाई दुबईको विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए। उनीहरूलाई बोर्ड सदस्य सन्तोष पोखरेल, वरिष्ठ प्रबन्धक सूर्य थपलिया, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल र नाटा गण्डकीका अध्यक्ष संगिता पौडेललगायतले स्वागत गरेका थिए। अन्य क्रिएटरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्मा र सरोज महर्जनले स्वागत गरेका थिए।

यस अभियानमा बंगलादेशका अनिर्बान कैसर, श्रीलंकाका कसुन सम्पथ देगोडा गमागे, ट्युनिसियाका बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी तथा यूएईका मोहम्मद नाबिलले पोखराका पर्यटकीय आकर्षणलाई प्राथमिकतामा राखेर सामग्री तयार गर्नेछन्।

Advertisement Ads

त्यस्तै, फ्रान्सका जेरेमी ब्युडेटले चितवनको वन्यजन्तु, निकुञ्ज तथा थारू संस्कृति र प्रकृतिमा आधारित पर्यटन अनुभव समेट्नेछन्। पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्ग्यु लीले बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु तथा समुदायमा आधारित पर्यटनका सम्भावनालाई आफ्ना सामग्रीमार्फत प्रस्तुत गर्नेछन्।

एनटीबी र टिकटकबीच सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको थियो। उक्त सहकार्यअन्तर्गत सुरु गरिएको ‘#LifetimeExperiences’ अभियानले नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई छोटा भिडियोमार्फत विश्वभर पुर्‍याउने लक्ष्य राखेको छ।

यस सहकार्यलाई निरन्तरता दिँदै सन् २०२६ मा पनि डिजिटल पर्यटन प्रवर्द्धनका गतिविधि सञ्चालन गरिएको बोर्डले जनाएको छ। यसअघि जुन २४ देखि २६ सम्म काठमाडौंमा बोर्ड र टिकटकको संयुक्त आयोजनामा तीनदिने ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला सम्पन्न भएको थियो। कार्यशालामा पर्यटन व्यवसायी, डिजिटल क्रिएटर, पदयात्रा व्यवसायी, पर्वतारोही तथा पर्यटन क्षेत्रका सरोकारवालालाई डिजिटल स्टोरीटेलिङ, भिडियो निर्माण र सामाजिक सञ्जालमार्फत गन्तव्य प्रवर्द्धनसम्बन्धी प्रशिक्षण दिइएको थियो।

यसपटकको भ्रमणमा क्रिएटरहरूले स्थानीय पर्यटन व्यवसाय, आतिथ्य सेवा, खानपान, साहसिक गतिविधि र मौलिक यात्राका अनुभवलाई समेत सामग्रीमा समेट्नेछन्। व्यक्तिगत अनुभव, दृश्य र स्थानीय कथामा आधारित सामग्रीले विशेषगरी युवा पुस्तामाझ लोकप्रिय डिजिटल प्लेटफर्ममार्फत नयाँ पर्यटकीय गन्तव्यको पहिचान विस्तार गर्न सहयोग पुग्ने बोर्डको अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स