नेपालका कम चिनिएका तथा ओझेलमा परेका पर्यटकीय गन्तव्यको डिजिटल माध्यमबाट प्रचारप्रसार गर्न २०० भन्दा बढी कन्टेन्ट क्रिएटर परिचालन गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ को पहलमा नेपाल पर्यटन बोर्डले यस्तो अभियान अघि बढाउन लागेको हो।
अभियानअन्तर्गत विभिन्न विधामा सक्रिय २०० भन्दा बढी कन्टेन्ट क्रिएटरलाई देशका विभिन्न पर्यटकीय गन्तव्यमा पुर्याइनेछ। खानपान, भेषभूषा, यात्रा, फोटोग्राफी, भिडियोग्राफी, कला, संस्कृति तथा जीवनशैलीका क्षेत्रमा काम गर्ने क्रिएटरमार्फत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र मौलिक जीवनशैलीलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको छ।
मन्त्री पौडेलले पर्यटन प्रवर्द्धनमा डिजिटल प्लेटफर्म र सिर्जनशील युवाको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै आएका छन्। नयाँ तथा कम परिचित पर्यटकीय गन्तव्यसँगै नेपाली कला, संस्कृति, खानपान र जीवनशैलीलाई विश्वसामु चिनाउन कन्टेन्ट क्रिएटरको सहभागिता प्रभावकारी हुने उनको भनाइ छ।
यस अभियानलाई पर्यटन प्रवर्द्धनमा मात्र सीमित नराखी कन्टेन्ट क्रिएसनलाई सम्भावनायुक्त उद्योगका रूपमा विकास गर्ने अवसरका रूपमा लिनुपर्नेमा पनि मन्त्री पौडेलले जोड दिँदै आएका छन्। यसले नयाँ प्रतिभालाई सिर्जनशीलता प्रस्तुत गर्ने अवसर दिनुका साथै रोजगारी, उद्यमशीलता र व्यावसायिक सम्भावना विस्तार गर्ने विश्वास उनको छ।
नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत डिजिटल पर्यटन प्रवर्द्धन, फोटो तथा भिडियो सामग्री उत्पादन, डिजिटल कन्टेन्ट बैंक निर्माण र कन्टेन्ट क्रिएटरसँगको सहकार्यलाई प्राथमिकतामा राखेको छ। सोही नीतिगत प्राथमिकताअनुसार बोर्डले विभिन्न विधाका क्रिएटरलाई अभियानमा सहभागी गराउन लागेको हो।
अभियानमा सहभागी क्रिएटरहरूले देशका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी आफ्नै सिर्जनात्मक शैली र विधाअनुसार फोटो, भिडियो तथा अन्य डिजिटल सामग्री तयार गर्नेछन्। यस्ता सामग्रीले स्थापित पर्यटकीय गन्तव्यको प्रचारसँगै ओझेलमा परेका सम्भावनायुक्त स्थानको पहिचान र प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
परम्परागत प्रचार सामग्रीभन्दा फरक व्यक्तिगत अनुभव, स्थानीय कथा, संस्कृति, खानपान र जीवनशैलीमा आधारित सामग्रीमार्फत सम्भावित पर्यटकलाई नेपालसँग जोड्ने अभियानको उद्देश्य छ। डिजिटल प्लेटफर्ममा क्रिएटरहरूको पहुँच र प्रभाव उपयोग गर्दा नेपालको पर्यटनसम्बन्धी जानकारी विभिन्न उमेर समूह र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।

प्रतिकृया