भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ३.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको ३.६८४२ प्रतिशत अर्थात् ७ करोड ४ लाख ६० हजार ५२६ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमध्ये ०.१८४२ प्रतिशत अर्थात् ३५ लाख २३ हजार २६ रुपैयाँ ३२ पैसा कर प्रयोजनका लागि विनियोजन गरिनेछ। बाँकी रकम प्रचलित कानुनअनुसार कर कट्टी गरी वितरण गरिने कम्पनीले जनाएको छ। लाभांश वितरणसम्बन्धी प्रस्ताव कम्पनीको आठौँ वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ।
मंसिर ३ गते साधारणसभा
कम्पनीले आठौँ वार्षिक साधारणसभा मंसिर ३ गते बिहीबार बुटवलस्थित दियालो फुडल्याण्ड, कालिकानगरमा बिहान ९ बजे बोलाएको छ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण गरिएको वित्तीय विवरण पारित गर्ने, आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमाथि छलफल हुनेछ। साथै, नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव अनुमोदनका लागि पेस गरिनेछ।
कात्तिक १६ गते बुक क्लोज
साधारणसभाका लागि कम्पनीले कात्तिक १६ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। त्यसअनुसार कात्तिक १५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई राफसाफ तथा सेयरधनी दर्ता किताबमा अद्यावधिक भएका सेयरधनीले सभामा भाग लिन पाउनेछन्।

प्रतिकृया