नेपालले असोजमा भारतलाई बेच्यो झण्डै ६ अर्बको बिजुली, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

Advertisement Ads
नेपालले असोजमा भारतलाई बेच्यो झण्डै ६ अर्बको बिजुली, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
Advertisement Ads

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। गत वर्षको असोजको तुलनामा यस वर्ष निर्यातबाट भएको कारोबार ९६ करोड २० लाख रुपैयाँले बढेको हो।

प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ। भारतको हरियाणा र बिहार राज्यसँगको द्विपक्षीय विद्युत् बिक्री सम्झौताअन्तर्गत तथा भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे-अहेड र रियल टाइम बजारमार्फत विद्युत् बिक्री गरिएको हो।

गत वर्ष २०८२ को असोजमा भारततर्फ विद्युत् निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ कारोबार भएको थियो। त्यस्तै, चालु आवको भदौमा ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात भएको थियो। यस वर्ष असोजको कारोबार भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले बढी हो।

चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बंगलादेशतर्फ ४० मेगावाट निर्यात पुनः सुरु

Advertisement Ads

भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले विद्युत् आयोजनामा क्षति पुर्‍याएपछि रोकिएको बंगलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु भएको छ। भारतको प्रसारण प्रणाली प्रयोग गरी हुँदै आएको निर्यात कात्तिक ६ गते शुक्रबार साँझदेखि पुनः सञ्चालनमा आएको हो।

बाढीबाट बंगलादेश निर्यातका लागि स्वीकृति पाएका त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुगेपछि निर्यात रोकिएको थियो। त्यसपछि भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य आयोजनाको विद्युत् निर्यात गर्न अनुमति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको हो।

नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा भारतको हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ।

नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते भएको पाँचवर्षीय सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरिँदै आएको छ।

भारततर्फ विद्युत् निर्यात क्षमता १,१७९ मेगावाट

भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएको छ। यससँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत् क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणले देशभित्रको माग पूरा गरेपछि बचत हुने वर्षायामको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स