आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १६ देखि ३१ गतेसम्मका उपहार कुपन आगामी कात्तिक १ गते खोल्ने भएको छ। विभागले उक्त अवधिमा नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्तालाई असोज ३१ गतेभित्र खरिद बिलको विवरण अनलाइन प्रविष्ट गर्न आग्रह गरेको छ।
विभागले जारी गरेको सूचनाअनुसार उपभोक्ताले खरिद बिलसम्बन्धी विवरण prize.ird.gov.np मा गएर प्रविष्ट गरी उपहार कुपन प्राप्त गर्न सक्नेछन्। उक्त कार्यक्रम पाक्षिक रूपमा सञ्चालन हुँदै आएको छ।
उपहार कार्यक्रममा सहभागी हुन तथा पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य रहेकाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन विभागले सबै उपभोक्तालाई अनुरोध गरेको छ।
त्यस्तै, वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्न तथा गराउन विभागले व्यवसायीहरूलाई सूचित गरेको छ।
विभागले कर प्रणालीलाई व्यवस्थित बनाउन र बिल लिने तथा दिने संस्कृतिलाई प्रोत्साहन गर्न उपभोक्ता र व्यवसायी दुवैलाई जिम्मेवार बन्न आग्रह गरेको छ।


प्रतिकृया