ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स लिमिटेडलाई प्राप्ति (Acquisition) गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले रोयल फर्मास्युटिकल्स प्राप्तिका लागि १ कित्ता सेयर बराबर ०.५७४४ कित्ता सेयर आदानप्रदान गर्ने प्रस्तावसमेत अघि सारेको छ।
कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २६ गते ११औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो। सभा चितवनको भरतपुर महानगरपालिका–२९, जुगेडीस्थित कम्पनीको उद्योग परिसरमा बिहान ९:१५ बजे सुरु हुनेछ।
सभामा रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने सम्बन्धमा भएका प्रारम्भिक समझदारीपत्र, त्यसको संशोधन, प्राप्ति समिति गठन, स्वतन्त्र मूल्याङ्कनकर्ता तथा कानुनी सल्लाहकार नियुक्तिलगायतका कामकारबाही अनुमोदन गर्ने प्रस्ताव पेस हुनेछ।
त्यस्तै, स्वतन्त्र मूल्याङ्कनकर्ता एस.आर. पाण्डे एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सले तयार गरेको सम्पत्ति, दायित्व तथा व्यवसायको मूल्याङ्कन प्रतिवेदन (Due Diligence Audit Report) र अन्तिम सहमतिपत्र (Scheme of Arrangement) अनुमोदन गर्ने प्रस्ताव पनि सभामा लगिनेछ।
प्रस्तावअनुसार रोयल फर्मास्युटिकल्सको १ कित्ता सेयर भएका सेयरधनीलाई ओम मेगाश्री फर्मास्युटिकल्सको ०.५७४४ कित्ता सेयर उपलब्ध गराइनेछ। अर्थात् दुवै कम्पनीबीच सेयर आदानप्रदान अनुपात १:०.५७४४ कायम गर्ने प्रस्ताव गरिएको छ।
प्राप्ति प्रक्रिया र अन्य संस्थागत व्यवस्थाका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका सम्बन्धित प्रावधान संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। नियमनकारी निकाय वा अन्य कार्यालयबाट आवश्यक संशोधन तथा परिमार्जन गर्न निर्देशन आएमा सोअनुसार काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्तावसमेत रहेको छ।
यसैगरी, सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नेछ। आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
सभाले संस्थापक सेयरधनी समूहबाट चार जना सञ्चालक निर्वाचित गर्ने कार्यक्रमसमेत राखेको छ।
कम्पनीले साधारण सभा तथा सञ्चालक निर्वाचन प्रयोजनका लागि मंसिर १५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले मंसिर १४ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र सभामा सहभागी हुन र सञ्चालक निर्वाचनमा मतदान गर्न पाउनेछन्।

प्रतिकृया