अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्। उनले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीजस्ता क्षेत्रमा नयाँ लगानी गर्न तथा नेपालमा यसअघि नै लगानी गरिरहेका व्यवसायीलाई लगानी विस्तार गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त रूपमा सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन्।
नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’मा बोल्दै उनले नेपालमा लगानीका लागि अनुकूल वातावरण र पर्याप्त सम्भावना रहेको बताएका थिए।
“सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु,” अर्थमन्त्री डा। वाग्लेले भन्नुभयो, “नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस् । नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो ।”
उनले नेपालमा विदेशी लगानी बढाउन सरकारले कानुनी सुधारलाई सरल र लगानीमैत्री बनाउँदै लगेको पनि जानकारी दिए।
लगानीकर्ताको विश्वास बढाउन लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ता लैजाने प्रक्रियालाई कानुनी रूपमा सहज बनाउन सरकारले विशेष पहल गरिरहेको उनको भनाइ थियो।
कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद र भारतीय उद्योग परिसंघको अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले पनि सम्बोधन गरेका थिए।
कार्यक्रममा प्रधानमन्त्रीको भ्रमण टोलीसँगै भारत पुगेका नेपाली उद्योगी व्यवसायीका साथै डेढ दर्जन भारतीय उद्योगी व्यवसायी र प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो।

प्रतिकृया