एनपीएल फाइनलको टिकट मिनेटमै कसरी भयो सोल्ड आउट, यस्तो छ वास्तविक कारण

Advertisement Ads
एनपीएल फाइनलको टिकट मिनेटमै कसरी भयो सोल्ड आउट, यस्तो छ वास्तविक कारण
Advertisement Ads

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री खुलेको केही मिनेटमै सबै टिकट बिक्री भएका छन् । टिकट खरिद गर्न नपाएपछि सामाजिक सञ्जालमा समर्थकहरूले इसेवाको आलोचना गरिरहेका छन् ।

एनपीएल फाइनलको टिकट बिक्रीमा इसेवामाथि प्रश्न उठिरहेका बेला नेपाल क्रिकेट संघ (क्यान) ले भने एकैपटक करिब २ लाख प्रयोगकर्ताले टिकट खरिदको प्रयास गरेपछि मागअनुसार टिकट उपलब्ध गराउन नसकिएको जनाएको छ ।

तर, टिकट बिक्रीका क्रममा वास्तवमा के भएको थियो ?

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार टिकट बिक्री खुल्ने समयमा करिब २ लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरेका थिए । यता, इसेवाको सूचना प्रविधि (आईटी) विभागका एक कर्मचारीले बजारको चिरफारलाई दिएको जानकारीअनुसार टिकट बिक्रीका क्रममा इसेवामा प्रतिमिनेट ४ लाखभन्दा बढी API हिट आएका थिए ।

इसेवाका ती कर्मचारीका अनुसार टिकटको इन्भेन्टरी रिफ्रेस गर्ने क्रममा दिउँसो १ बजेअघि केही समयका लागि टिकट ‘सोल्ड आउट’ देखिएको थियो । यद्यपि, टिकट बिक्री भने निर्धारित समय दिउँसो १ बजेबाट मात्रै सुरु भएको हो ।

Advertisement Ads

टिकटको सीमित संख्या र एकैपटक आएको ठूलो प्रयोगकर्ता चापका कारण धेरै समर्थकले टिकट खरिद गर्न सकेनन् । यसले टिकट बिक्री प्रणालीलाई लिएर सामाजिक सञ्जालमा असन्तुष्टिसमेत बढाएको छ ।

सीमित टिकट, लाखौँ समर्थक

एनपीएल फाइनलको टिकटमा यति धेरै चाप देखिनुको अर्को कारण नेपाली क्रिकेटप्रति बढ्दो आकर्षण हो । शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स उपाधिका लागि भिड्दैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको दर्शक क्षमता सीमित छ । तर, फाइनल हेर्न चाहने समर्थकको संख्या निकै ठूलो छ । क्यानका अनुसार पनि मैदानको क्षमताअनुसार टिकट उपलब्धता सीमित भएकाले मागअनुसार टिकट उपलब्ध गराउन नसकिएको हो ।

यस संस्करणमा सुदूरपश्चिम रोयल्सका खेलहरूमा दर्शकको उल्लेख्य उपस्थिति देखिँदै आएको छ । लुम्बिनी लायन्सले पनि ठूलो समर्थक समूह बनाएको छ । गत मंगलबार भएको दुई टोलीबीचको पहिलो क्वालिफायर खेलको टिकटसमेत छोटो समयमै बिक्री भएको थियो । 

फाइनलमा सुदूरपश्चिम लगातार तेस्रो पटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ । अघिल्ला दुई संस्करणमा फाइनल पुगे पनि टोली उपाधि जित्न सफल भएको थिएन । यसपटक भने ऐतिहासिक पहिलो उपाधि जित्ने अवसर सुदूरपश्चिमसँग छ ।

अर्कोतर्फ, साविक विजेता लुम्बिनी लायन्स लगातार दोस्रो पटक उपाधि जित्दै आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यमा छ । दुई लोकप्रिय टोलीबीचको यही प्रतिस्पर्धाले पनि फाइनलप्रति समर्थकको आकर्षण बढाएको छ ।

यसरी सीमित दर्शक क्षमता, दुई टोलीको ठूलो समर्थक आधार र फाइनलप्रतिको उच्च उत्साहका कारण टिकट बिक्री खुल्नेबित्तिकै असाधारण माग देखिएको हो ।

क्यानले टिकट पाउन नसकेका समर्थकसँग असुविधाका लागि क्षमायाचना गर्दै अनलाइन तथा आधिकारिक प्लेटफर्ममार्फत फाइनल खेल हेरेर नेपाली क्रिकेटलाई साथ दिन आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स