फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको कम्पनीले मंसिर २८ गते वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीको सञ्चालक समितिको मंसिर ३ गते बसेको २६०औँ बैठकले सत्रौँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो। सभा मंसिर २८ गते सोमबार बिहान १० बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बस्नेछ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट २०८३ असार मसान्तसम्मको चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँको ११.०५२६ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव गरेको थियो।
प्रस्तावित लाभांश रकम १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ रहेको छ। उक्त रकममा लाभांशमा लाग्ने करसमेत समावेश छ। नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको यो प्रस्ताव अब साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।
साधारण सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने प्रस्ताव पनि पेस हुनेछ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ।
त्यस्तै, संस्थापक सेयरधनी समूह ‘क’ बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गरिनेछ।
सभाले कम्पनीलाई आवश्यक परेको अवस्थामा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनसम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत छलफल गरी पारित गर्नेछ।
मंसिर १५ गते बुक क्लोज
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ।
यसअनुसार मंसिर १४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई नियमानुसार सेयर नामसारी भएका सेयरधनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।

प्रतिकृया