नेपाल राष्ट्र बैंकले साइबर तथा डिजिटल वित्तीय ठगीमा परे तत्काल १२४७ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। अनलाइन ठगी, नक्कली लिंक, फिसिङ तथा डिजिटल भुक्तानीसम्बन्धी ठगीका घटनाको उजुरी गर्न सकिने गरी २४ सै घण्टा सञ्चालन हुने हटलाइन नम्बर सार्वजनिक गरिएको हो।
प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोमा विभिन्न सरोकारवाला निकायको सहभागितामा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (Integrated Anti-Cyber Scam Centre – IACSC) स्थापना गरिएको छ। साइबर तथा डिजिटल वित्तीय ठगीसम्बन्धी गुनासो र उजुरी सम्बोधन गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालनमा ल्याइएको हो।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको सूचनाअनुसार अनलाइन ठगी, फिसिङ, नक्कली लिंक, अनधिकृत कारोबार वा डिजिटल भुक्तानीसम्बन्धी ठगीमा परे तत्काल १२४७ मा सम्पर्क गरी जानकारी वा उजुरी गर्न सकिनेछ। हटलाइनबाट प्राप्त जानकारीअनुसार आवश्यक प्रक्रिया पनि अवलम्बन गर्नुपर्नेछ।
त्यस्तै, ठगीमा परेमा आफ्नो बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ। यसबाट बैंक खाता तथा डिजिटल वालेट सुरक्षित गर्न आवश्यक पहल गर्न सकिनेछ।
राष्ट्र बैंकले साइबर तथा डिजिटल वित्तीय ठगीविरुद्ध सचेत रहन र ठगीमा परेमा तत्काल १२४७ मा सम्पर्क गर्न अनुरोध गरेको छ।


प्रतिकृया