इन्जिनियरिङ अध्ययन गरेका राजेश रेग्मीले जम्मा ५ हजार रुपैयाँबाट सुरु गरेको चिया व्यवसाय अहिले सातवटा आउटलेटसम्म विस्तार भएको छ। ‘दाह्री भाइ’का रूपमा परिचित रेग्मीले अहिले ७० देखि ८० जनालाई रोजगारी दिइरहेका छन्।
उनको व्यावसायिक यात्रा भने सहज थिएन। चिया पसल सुरु गर्दा ग्यास सिलिन्डर किन्ने पैसा नहुँदा उनी बिहान डेराबाट काँधमा सिलिन्डर बोकेर पसल पुग्थे र साँझ फेरि कोठामै फर्काउँथे। करिब १५ दिनसम्म उनले यसरी नै व्यवसाय सञ्चालन गरे।
पारिवारिक संघर्षदेखि व्यवसायसम्म
राजेश ११ कक्षामा पढ्दै गर्दा बुवाको निधन भएपछि परिवारको आर्थिक अवस्था कमजोर बन्यो। आमाको स्वास्थ्य अवस्था पनि बिग्रिएपछि परिवारले कठिन समय सामना गर्नुपर्यो। उनकी दिदीले ट्युसन पढाएर परिवारलाई सहयोग गरिन् भने आमाले गाउँमा सानो पसल सञ्चालन गर्दै चिया बेच्न थालिन्।
आमाबाटै चिया बनाउने सीप सिकेका राजेशले पछि काठमाडौंमा इन्जिनियरिङ अध्ययन पूरा गरे। निर्माण कम्पनी र कन्सल्टेन्सीमा काम गरे पनि उनको रुचि आफ्नै व्यवसाय गर्नेमा थियो।
उनले दिदीसँग ५ हजार रुपैयाँ लिएर शंखमूलमा एउटा स्टल भाडामा लिई चिया पसल सुरु गरे। बिहान खाली रहने समय उपयोग गरेर आम्दानी गर्ने उद्देश्यले सुरु गरिएको व्यवसाय विस्तारै उनको मुख्य व्यावसायिक यात्रा बन्यो।
चिया पसललाई फरक बनाउने सोच
कलेज पढ्दा चिया खान जाने ठाउँमा लामो समय बसेर गफ गर्न नपाउने अनुभवले उनलाई ग्राहक आरामसँग बस्न र समय बिताउन सक्ने चिया पसल बनाउने सोच दिएको थियो।
व्यवसाय विस्तार गर्ने क्रममा आर्थिक अभावले उनलाई नयाँ उपाय खोज्न बाध्य बनायो। शंखमूलमा संरचना निर्माण गर्दा आफूसँग २० हजार रुपैयाँ मात्रै थियो। पछि विभिन्न सहकारीबाट करिब १८ लाख रुपैयाँ ऋण जुटाएर उनले व्यवसाय विस्तार गरे। उक्त ऋण एक वर्षभित्रै चुक्ता गर्न सफल भए।
भुइँमा गिट्टी बिछ्याउने र बाँसको संरचना बनाउने अवधारणा पनि कम खर्चमा पसल तयार गर्ने प्रयासबाट आएको थियो। पछि एउटा कम्पनीले मार्केटिङको उद्देश्यले करिब साढे ६ लाख रुपैयाँ बराबरको फर्निचर उपलब्ध गराएपछि पसलको सुविधा थप विस्तार भयो।
चिया व्यवसायमा कति हुन्छ नाफा?
राजेशका अनुसार दूध चियामा अपेक्षा गरेजस्तो नाफा हुँदैन। दूध, चिनी, चियापत्ती, मसला, ग्यास र कर्मचारीको खर्च जोड्दा मार्जिन कम हुन्छ। लेमन टी र ब्ल्याक टीमा भने तुलनात्मक रूपमा राम्रो मार्जिन रहने उनको अनुभव छ।
उनका अनुसार सबै खर्च कटाएर व्यवसायको खुद नाफा करिब १० देखि २० प्रतिशतसम्म रहन्छ।
पछिल्लो समय धेरै चिया पसल क्याफे मोडलमा सञ्चालन भइरहेका छन्। चियामार्फत ग्राहक आकर्षित गरेर अन्य खानेकुरा तथा पेय पदार्थ बिक्री गर्नु उनीहरूको रणनीति हुने गरेको छ। राजेशले भने लामो समयसम्म चियालाई नै मुख्य उत्पादन बनाएर व्यवसाय सञ्चालन गरेका छन्।
सात आउटलेट र ७० भन्दा बढीलाई रोजगारी
शंखमूलबाट सुरु भएको उनको व्यवसाय अहिले सातवटा आउटलेटसम्म पुगेको छ। पछिल्लो एक वर्षमा मात्रै पाँचवटा नयाँ आउटलेट थपिएका छन्।
व्यवसाय विस्तारमा सुरेन्द्र साउद र सुदर्शन पौडेलको मार्गदर्शनले महत्त्वपूर्ण भूमिका खेलेको उनी बताउँछन्।
अहिले उनका आउटलेटमा ७० देखि ८० जनासम्मले रोजगारी पाएका छन्। पुराना कर्मचारीलाई तलबसँगै व्यवसायको कारोबारका आधारमा केही प्रतिशतसमेत दिने गरिएको छ। कर्मचारीले यही कामबाट कमाएको पैसाले गाउँमा जग्गा किनेको देख्दा आफूलाई खुसी लाग्ने उनी बताउँछन्।
व्यवसायमा अनुशासन र जनशक्तिको चुनौती
राजेशले व्यवसायबाट सिकेको सबैभन्दा महत्त्वपूर्ण कुरा अनुशासन भएको बताएका छन्। आम्दानी हुनु मात्रै पर्याप्त नभई त्यसको हिसाब राख्ने, खर्च व्यवस्थापन गर्ने र बचत गर्ने बानी आवश्यक रहेको उनको अनुभव छ।
नेपालमा व्यवसाय गर्ने र विदेश जाने युवाको विषयमा उनको धारणा व्यावहारिक छ। उनका अनुसार नेपालमा न्यून पारिश्रमिक र बढ्दो व्यावसायिक जोखिमका कारण युवाहरू विदेश जानुलाई गलत मान्न सकिँदैन।
उनले अहिले व्यवसाय सञ्चालनमा पैसाभन्दा पनि कर्मचारी पाउन कठिन हुँदै गएको अनुभव सुनाएका छन्। शंखमूलको एउटा आउटलेटमा नौ जना कर्मचारी आवश्यक हुँदा तीन जना मात्रै उपलब्ध भएको उदाहरण दिँदै उनले आगामी १० देखि १५ वर्षमा नेपाली व्यवसायमा भारतीय कामदारको निर्भरता बढ्न सक्ने बताएका छन्।
नेपालमा अझै छन् व्यवसायका अवसर
राजेश नेपालमा व्यवसायका अवसर समाप्त भएको मान्दैनन्। तर, एउटै क्षेत्रमा सबैले लगानी गर्नुभन्दा बजारको आवश्यकता पहिचान गरेर फरक व्यवसाय गर्नुपर्ने उनको सुझाव छ।
उनले स्थानीय स्तरमा गिट्टी उत्पादन, अस्पतालमा बिरामीका आफन्तलाई सहयोग गर्ने केयरटेकर सेवा लगायतका क्षेत्रमा सम्भावना देखेका छन्।
उनका अनुसार व्यवसायमा आउनुअघि जोखिम, समय र जिम्मेवारी बुझ्न आवश्यक छ। जागिरमा जस्तो निश्चित समय र बिदा व्यवसायमा हुँदैन। त्यसैले धैर्य, समर्पण र निरन्तर प्रयास आवश्यक हुन्छ।
नयाँ चिया पसल खोल्न चाहनेलाई पनि उनी ठूलो लगानीबाट सुरु नगर्न सुझाव दिन्छन्। सानो लगानीबाट बजार बुझ्दै विस्तार गर्नु र चियासँगै अन्य खानेकुरालाई पनि व्यवसायमा समावेश गर्नु उपयुक्त हुने उनको धारणा छ।
५ हजार रुपैयाँबाट सुरु भएको राजेशको व्यवसाय अहिले सात आउटलेटमा पुगेको छ। आगामी दिनमा हस्पिटालिटी र पर्यटन क्षेत्रमा समेत विस्तार गर्दै ठूलो व्यावसायिक समूह निर्माण गर्ने उनको योजना छ।

प्रतिकृया