एनएमबि बैंक लिमिटेडले मंसिर २५ गते आफ्नो ३१औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकको कार्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन शुक्रबार दिउँसो ४ बजे साधारण सभा गर्ने निर्णय गरेको हो।
सभामा आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने नगद लाभांश प्रस्ताव पारित गरिनेछ। बैंकले साधारण सेयरधनीलाई चुक्ता पुँजीको ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै, एनएमबि अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
प्रस्तावित लाभांशमध्ये साधारण सेयरधनीका लागि कर प्रयोजनसहित ७ प्रतिशत र अग्राधिकार सेयरधनीका लागि कर प्रयोजनसहित ८.२५ प्रतिशत नगद लाभांश रहेको छ।
साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण र आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ।
त्यस्तै, बैंकका सहायक कम्पनी एनएमबि क्यापिटल, एनएमबि लघुवित्त वित्तीय संस्था र एनएमबि सेक्युरिटिजको एकीकृत वित्तीय विवरणसमेत सभामा पेस गरिनेछ।
बुक क्लोज
बैंकले साधारण सभा तथा प्रस्तावित नगद लाभांश वितरण प्रयोजनका लागि मंसिर ११ गते एक दिन सेयर दाखिल खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ। त्यसअनुसार मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीले साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिकृया