नबिल इन्भेष्टमेन्ट बैंकिङले मंसिर ९ गतेदेखि नबिल ग्रोथ फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्न लागेको हो। प्रतिइकाई मूल्य १० रुपैयाँ निर्धारण गरिएको छ।
कुल निष्काशन गरिने इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङका लागि छुट्याइएको छ। यसमध्ये नबिल बैंकका लागि १ करोड ४० लाख इकाई अर्थात् १४ प्रतिशत र नबिल इन्भेष्टमेन्ट बैंकिङका लागि १० लाख इकाई अर्थात् १ प्रतिशत सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्काशन गरिनेछ।
यस फण्डमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने प्रारम्भिक अन्तिम मिति मंसिर १४ गते तोकिएको छ। उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्काशन अवधि मंसिर २३ गतेसम्म थप हुनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन्। यस योजनाको कोष प्रवद्र्धक नबिल बैंक रहेको छ भने योजना व्यवस्थापन तथा निष्काशन बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङले सम्हालेको छ।

प्रतिकृया