एनएमबि बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ४०.६० प्रतिशतले बढेर ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी, शुल्क तथा कमिसन आम्दानी र समग्र सञ्चालन आम्दानीमा उल्लेख्य सुधार आएका कारण नाफा बढेको हो। बैंकको खराब कर्जा बापत छुट्याउनुपर्ने रकम (इम्पेयरमेन्ट चार्ज) बढे पनि मुख्य व्यापारबाट हुने आम्दानी बलियो भएकाले खुद नाफामा सकारात्मक असर परेको देखिन्छ।
चौथो त्रैमाससम्ममा एनएमबि बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर ९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी १९.६६ प्रतिशतले बढेर १३ अर्ब २ करोड रुपैयाँ पुगेको छ। यता, बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ६४ करोड रुपैयाँबाट बढेर २ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा अनुपात (NPL) ०.८० प्रतिशतबिन्दुले बढेर ४.९१ प्रतिशत पुगेको छ। यसले बजारको आर्थिक शिथिलताका कारण बैंकको कर्जा असुलीमा चुनौती थपिएको संकेत गर्दछ।
समीक्षा अवधिमा बैंकले ३ खर्ब १५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकले निक्षेप १२.१७ प्रतिशतले र कर्जा लगानी ९.३३ प्रतिशतले बढाएको छ।
बैंकको चुक्ता पूँजी २१.३३ प्रतिशतले बढेर २२ अर्ब २९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १ अर्ब ७५ करोड रुपैयाँ र जगेडा कोष (Reserve and Surplus) मा १५ अर्ब ७७ करोड रुपैयाँ सञ्चित रहेको छ।
समग्र खुद नाफा बढे पनि अघिल्लो वर्षको तुलनामा वितरणयोग्य नाफा ७.९१ प्रतिशतले घटेको छ। यसको अर्थ बैंकले लगानीकर्तालाई बाँड्न सक्ने लाभांश क्षमतामा केही संकुचन आएको छ।
बैंकको प्रतिसेयर आम्दानी (EPS) ५.३८ रुपैयाँले बढेर २०.१८ रुपैयाँ पुगेको छ। तर, वितरणयोग्य प्रतिसेयर आम्दानी भने घटेर ९.०८ रुपैयाँमा सीमित भएको छ। यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १८१.१५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (PE Ratio) ११.८७ गुणा रहेको छ।

साहस ऊर्जाको नाफामा उछाल, कति पुग्यो इपीएस ?
प्रतिकृया