आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ।
आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य विषय के रहे? दिनभरका प्रमुख घटनाक्रमलाई छोटकरीमा प्रस्तुत गर्दैछौं।
आज सेयरबजारमा के भयो?
आज कार्तिक १७ गते मंगलबार नेप्से परिसूचक ६.६२ अंकले बढेर २,६६४.१३ विन्दुमा बन्द भएको छ। आज सेयर बजारमा ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार ५२३.४९ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य बढेको, १२२ कम्पनीको सेयर मूल्य घटेको र १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
माण्डु हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर सूचीकृत, कहिलेदेखि कारोबार गर्न मिल्छ ?
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आज मंगलबार माण्डु हाइड्रोपावर लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको १० प्रतिशत अर्थात १३ लाख ६३ हजार ६३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
अझै यी १३ कम्पनीको सेयर किन्दा पाइन्छ लाभांश, कुनले कति दिँदैछ ?
अझै यी १३ कम्पनीको सेयर खरिद गर्दा लाभांश पाउने अवसर छ। आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट लाभांश घोषणा गरेका १३ कम्पनीमध्ये १२ वटाले बुक क्लोज मिति सार्वजनिक गरेका छैनन्। त्यसैले बुक क्लोज मिति तय हुनुअघि सेयरधनी कायम हुने गरी सेयर खरिद गर्ने लगानीकर्ताले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउन सक्नेछन्। बाँकी एउटा कम्पनीले भने बुक क्लोज मिति तोकिसकेको छ।
लाभांश घोषणा गर्ने कम्पनीमा मकर जितुमाया सुरी हाइड्रोपावर, हिमालयन लघुवित्त, आरएसडीसी लघुवित्त, लक्ष्मी सनराइज बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, फर्स्ट माइक्रोफाइनान्स, कुथेली बुखरी स्मल हाइड्रोपावर, एनएमबी बैंक, सिक्लेस हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक, मिड सोलु हाइड्रोपावर, युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर र युनिलिभर नेपाल रहेका छन्।
एक महिनाभित्र ६ कम्पनीका २ करोड ८६ लाखभन्दा बढी कित्ता सेयरको लकइन खुल्दै, कुनको कति कित्ता ?
कात्तिक २९ गतेदेखि आगामी मंसिर महिनासम्म ६ वटा कम्पनीका कुल २ करोड ८६ लाख ८४ हजार ६०७ कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ। लकइन अवधि समाप्त हुने सेयरमा संस्थापक, स्थानीय बासिन्दा, कर्मचारी तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को स्वामित्वमा रहेका सेयर छन्।
नेपाल वेयरहाउजिङको ५५ लाख बढी कित्ता सेयरको लकइन अवधि सकिँदै
नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको संस्थापक सेयरतर्फ ५५ लाख कित्ता र कर्मचारीतर्फ २७ हजार ५०० कित्ता गरी कुल ५५ लाख २७ हजार ५०० कित्ता सेयरको लकइन अवधि मंसिर १९ गतेपछि समाप्त हुने भएको छ।
कम्पनीले लकइन अवधि समाप्त हुन लागेको जानकारी दिँदै सम्बन्धित सेयरधनी तथा सरोकारवालालाई सूचित गरेको हो। तर, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको सेयर भने नियमानुसार रोक्का नै रहनेछ।
राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँड
राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गरेको ६ प्रतिशत आरबीबी डिबेञ्चर २०८९ बाँडफाँड गरेको छ। बैंकले सात वर्ष अवधिको उक्त ऋणपत्र कात्तिक १६ गते बाँडफाँड गरेको हो।
वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने यस ऋणपत्रको प्रतिकित्ता अंकित मूल्य १ हजार रुपैयाँ रहेको छ। बैंकले कुल ३० लाख कित्ता ऋणपत्र बिक्रीमार्फत ३ अर्ब रुपैयाँ बराबरको रकम जुटाएको छ।
बाँडफाँडमा परेको ऋणपत्रको विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट वा सीडीएससीले सञ्चालन गरेको वेबसाइटबाट हेर्न सकिने बैंकले जनाएको छ।
हिजोका समाचार छुटाउनुभयो कि?
मुक्तिनाथ कृषि कम्पनीको ६० लाख कित्ता बढी सेयरको लकइन खुल्दै
आज एकैदिन चार कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिने ?
मकर जितुमाया सुरी हाइड्रोपावरको लाभांश घोषणा, कति दिँदैछ ?
आरएसडिसी लघुवित्तले लाभांश घोषणा गर्यो
हिमालयन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
युनिलिभर नेपालले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, केके छन् प्रस्तावहरु ?
हिम पर्वत हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू यिनै रहे। बजारको चिरफार Evening Walk मा आजका लागि यति नै।
भोलि बिहान फेरि पुँजी बजारका महत्वपूर्ण गतिविधि र आवश्यक जानकारीसहित बजारको चिरफार Morning Walk लिएर उपस्थित हुनेछौं।
धन्यवाद।

प्रतिकृया