नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ। समितिका अनुसार कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको छ।
यस वर्षको यमपञ्चक कात्तिक २० गते शुक्रबारदेखि सुरु हुनेछ। पहिलो दिन धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ। कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ।
त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ भने कात्तिक २३ गते सोमबार गाईपूजा हुनेछ।
कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ। सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ।
यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ।
समितिका अनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्नेछ।


प्रतिकृया