सेयर बजारबाट कमाउनेहरुले के अध्ययन गर्दा रहेछन् ? [भिडियोसहित]

Advertisement Ads
Advertisement Ads

आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजका निर्देशक रामचन्द्र भट्टराईले सेयर बजारमा सफल हुन कम्पनीको वित्तीय अवस्था, भविष्यको सम्भावना र लगानीको उद्देश्य स्पष्ट हुनुपर्ने बताएका छन्। उनका अनुसार बजारमा सूचना सहजै उपलब्ध भए पनि त्यसको सही विश्लेषण गरी समयमै निर्णय लिन सक्नु नै सफल लगानीको आधार हो।

नेपालको सेयर बजारमा करिब दुई दशकदेखि सक्रिय भट्टराई लगानीकर्ता, लेखक, बैंक सञ्चालक हुँदै अहिले ब्रोकर व्यवसायमा संलग्न छन्। उनी आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नम्बर ५७) का निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका सदस्यसमेत हुन्।

अर्घाखाँचीको ग्रामीण परिवेशमा हुर्किएका भट्टराई उच्च शिक्षा हासिल गर्न २०५३ सालमा काठमाडौं आएका थिए। विद्यार्थी जीवनदेखि नै लेखा, वित्त र अर्थतन्त्रमा रुचि राख्ने उनले २०६० सालतिर आफ्नै कमाइबाट स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर खरिद गर्दै दोस्रो बजारमा लगानी सुरु गरेका थिए।

त्यतिबेला कम्पनीका वित्तीय विवरण सहजै उपलब्ध हुँदैनथे। उनी विभिन्न कम्पनीका ब्यालेन्स सिट संकलन गरेर अध्ययन गर्थे। प्रतिशेयर आम्दानी (ईपीएस), लाभांशलगायतका सूचक आफैँ गणना गरेर कम्पनीको वित्तीय अवस्था मूल्यांकन गर्थे। स्ट्यान्डर्ड चार्टर्ड बैंकसहित विकास बैंक र वित्त कम्पनीमा गरेको लगानीबाट उनले राम्रो प्रतिफलसमेत प्राप्त गरे।

सूचना बढ्यो, लगानीकर्तामा धैर्य घट्यो

Advertisement Ads

भट्टराईका अनुसार नेपालको सेयर बजारले प्रविधि, कारोबार रकम र लगानीकर्ताको सहभागितामा ठूलो फड्को मारेको छ। उनले ब्रोकर व्यवसाय सुरु गर्दा नेप्से परिसूचक करिब ३२५ अंकमा थियो भने दैनिक ३५ लाख रुपैयाँको कारोबार पनि उल्लेखनीय मानिन्थ्यो। अहिले दैनिक अर्बौँ रुपैयाँको कारोबार हुने गरेको छ।

पहिले लगानीकर्ताले सेयर खरिद गरेपछि लामो समय होल्ड गर्ने प्रवृत्ति थियो। अहिले भने छोटो समयमा नाफा सुरक्षित गर्ने र मूल्य घट्न थालेपछि डराएर बिक्री गर्ने प्रवृत्ति बढेको उनको बुझाइ छ।

अहिले कम्पनीका वित्तीय विवरणदेखि बजारसम्बन्धी सूचना र विश्लेषणसम्म डिजिटल माध्यमबाट सहजै प्राप्त गर्न सकिन्छ। कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट समेत कम्पनीको अध्ययन गर्न सकिने अवस्था छ। तर सूचना धेरै हुँदैमा लगानीकर्ता सफल नहुने उनको भनाइ छ। सूचनाको विश्लेषण, धैर्य र सही निर्णय क्षमता महत्त्वपूर्ण हुने उनी बताउँछन्।

मार्जिन कारोबार अवसरसँगै जोखिम पनि

पुँजी बजारमा सुरु भएको मार्जिन कारोबारलाई भट्टराईले लगानीकर्ताको कारोबार क्षमता विस्तार गर्ने उपयोगी सुविधाका रूपमा लिएका छन्। यसले बैंकबाट सेयर धितो राखेर ऋण लिने प्रक्रियाको तुलनामा कारोबारमा थप लचकता दिन सक्ने उनको भनाइ छ।

तर मार्जिन कारोबारबाट नाफाको सम्भावना बढे पनि घाटा र ब्याज खर्चसमेत बढ्न सक्ने भएकाले सावधानी आवश्यक रहेको उनी बताउँछन्। आर्यतारा सेक्युरिटिजले एउटै कम्पनीमा मात्र सबै रकम लगानी गर्न नपाउने र कम्तीमा तीन कम्पनीमा लगानी विभाजन गर्नुपर्ने व्यवस्था गरेको उनले जानकारी दिए।

उनका अनुसार विशेषगरी जलविद्युत् क्षेत्रमा बाढीपहिरोजस्ता प्राकृतिक जोखिम हुन सक्ने भएकाले एउटै कम्पनी वा क्षेत्रमा सबै लगानी केन्द्रित गर्नु उपयुक्त हुँदैन।

कम्पनी छनोट गर्दा तीन पक्षमा ध्यान दिनुपर्छ

भट्टराईले कम्पनी छनोट गर्दा मुख्यतः तीन पक्षलाई महत्त्व दिनुपर्ने बताएका छन्। कम्पनीको आम्दानी तथा प्रतिफल, सञ्चालक र व्यवस्थापनको क्षमता तथा भविष्यको व्यावसायिक सम्भावना लगानीका प्रमुख आधार हुन्।

कम्पनीको विगतको नाफा मात्रै हेरेर लगानी निर्णय गर्न नहुने उनको सुझाव छ। आगामी दिनमा आम्दानी बढाउने आधार, व्यवसाय विस्तारको योजना, पुँजीको आवश्यकता र त्यसको व्यवस्थापन कसरी हुँदैछ भन्ने विषय पनि अध्ययन गर्नुपर्छ।

साथीभाइको सुझाव, बजारको हल्ला वा सेयर मूल्य बढिरहेको आधारमा मात्रै लगानी गर्ने प्रवृत्ति जोखिमपूर्ण रहेको उनी बताउँछन्। लगानी गर्नुअघि कम्पनीले के काम गर्छ, आम्दानीको स्रोत के हो र भविष्यमा कस्तो प्रतिफल दिन सक्छ भन्ने बुझ्न आवश्यक रहेको उनको भनाइ छ।

आईटी, शिक्षा र कृषिमा देख्छन् सम्भावना

भविष्यमा नेपालमा सूचना प्रविधि, शिक्षा र कृषि क्षेत्रमा राम्रो लगानी सम्भावना रहेको भट्टराईको विश्लेषण छ। नेपाललाई शिक्षा हबका रूपमा विकास गरेर भारतका उत्तर प्रदेश र बिहारजस्ता क्षेत्रबाट विद्यार्थी आकर्षित गर्न सकिने उनको धारणा छ।

त्यस्तै, आधुनिक प्रविधिसहित व्यावसायिक कृषि प्रणाली विकास गर्न सके पहाडी क्षेत्रमा समेत अवसर सिर्जना गर्न सकिने उनी बताउँछन्। औषधि तथा उत्पादनमूलक उद्योगमा पनि सम्भावना रहेको उनको बुझाइ छ।

जलविद्युत् क्षेत्रमा धेरै कम्पनी प्रवेश गरिसकेकाले अब सबै कम्पनीको सेयर मूल्य बढ्छ भन्ने सोच राख्न नहुने उनको सुझाव छ। कुनै पनि क्षेत्रमा लगानी गर्नुअघि वास्तविक बजार, लागत, आम्दानीको सम्भावना र व्यवस्थापन क्षमता अध्ययन गर्नुपर्ने उनी बताउँछन्।

बजारको चक्र बुझ्न सके मात्रै दीर्घकालीन सफलता

भट्टराईका अनुसार सेयर बजारमा सफल हुन बजार बढ्ने र घट्ने दुवै चरणको अनुभव आवश्यक हुन्छ। बजार बढ्दा प्रवेश गर्ने र घट्न थालेपछि डराएर बिक्री गर्ने प्रवृत्तिले लगानीकर्तालाई घाटा पुर्‍याउन सक्छ।

बजार बढेको समयमा पोर्टफोलियोको जोखिम घटाउँदै लैजाने र बजार कमजोर हुँदा आधारभूत अवस्था राम्रो भएका कम्पनी उचित मूल्यमा खरिद गर्ने रणनीति उपयोगी हुन सक्ने उनको सुझाव छ।

उनले पुँजी बजारलाई सेयरको मूल्य बढ्ने र घट्ने माध्यमका रूपमा मात्रै बुझ्न नहुने पनि बताएका छन्। यसले सर्वसाधारणको बचतलाई उद्योग, ऊर्जा, पर्यटन तथा उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सहयोग पुर्‍याउँछ। कम्पनीले सेयर जारी गरेर पुँजी जुटाउन र त्यसबाट नयाँ आयोजना निर्माण गर्न सक्ने भएकाले पुँजी बजारको विकासले समग्र अर्थतन्त्रलाई नै सहयोग पुग्ने उनको भनाइ छ।

करिब दुई दशकको बजार अनुभवका आधारमा भट्टराईले लगानीकर्तालाई हल्लाको पछि नलाग्न, कम्पनीको अध्ययन गर्न, जोखिम वहन गर्ने क्षमता बुझ्न र स्पष्ट उद्देश्यसहित लगानी गर्न सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स