शिखर पावर डेभलपमेन्ट लिमिटेडले प्रवर्द्धन गरिरहेको ६.०५ मेगावाट क्षमताको लोअर भिमखोला क्यासकेड जलविद्युत् आयोजनाको क्षमता घटाएर ३.१ मेगावाट कायम गर्ने प्रस्ताव गरेको छ।
आयोजना निर्माणका क्रममा स्थानीय बासिन्दाले सिँचाइका लागि पानी नपुग्ने भन्दै पटक–पटक अवरोध गरेपछि कम्पनीले आयोजनाको क्षेत्र र क्षमता संशोधन गर्ने निर्णय गरेको हो।
कम्पनीले साविकको क्षेत्र र क्षमता कायम राखेर आयोजना सम्पन्न गर्न नसकिने देखिएपछि विवादित क्षेत्र संशोधन गरी नयाँ क्षेत्र निर्धारण गर्ने प्रस्ताव गरेको जनाएको छ।
प्रस्तावअनुसार आयोजनाको नयाँ क्षेत्र ८३ डिग्री ११ मिनेट ४५ सेकेन्ड पूर्वी देशान्तरदेखि ८३ डिग्री १२ मिनेट ५७ सेकेन्ड पूर्वी देशान्तरसम्म र २८ डिग्री १७ मिनेट ६ सेकेन्ड उत्तरी अक्षांशदेखि २८ डिग्री १७ मिनेट ३९ सेकेन्ड उत्तरी अक्षांशसम्म कायम गरिनेछ।
कम्पनीको सञ्चालक समितिले नयाँ क्षेत्र र ३.१ मेगावाट क्षमताका आधारमा आयोजना निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

प्रतिकृया