ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलमा भारतले आगामी हिउँदयाममा नेपाललाई ३५० मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ। भारतीय राजदूत सुधाकर दलेलाले ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठसँग भेट गरी भारतले विद्युत् उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका हुन्।
मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनका अनुसार भोटेकोशी नदीमा आएको बाढीले नेपालको विद्युत् पूर्वाधारमा क्षति पुर्याएकाले भारतले हिउँदको विद्युत् मागलाई ध्यानमा राख्दै आवश्यक विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो।
गत भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण जलविद्युत् आयोजना तथा पूर्वाधारमा क्षति पुग्दा ४३१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ। त्यसपछि कालीगण्डकी र बुढीगण्डकी नदीमा आएको बाढीले पनि विद्युत् पूर्वाधारमा क्षति पुर्याएको थियो।
विपद्का कारण विद्युत् उत्पादनमा आएको कमी र हिउँदमा बढ्ने मागलाई ध्यानमा राख्दै मन्त्री श्रेष्ठले भारतबाट विद्युत् आयातका लागि पहल थालेका थिए। उनले मन्त्रालय मातहतका निकाय, नेपाल विद्युत् प्राधिकरण र आफ्नो सचिवालयलाई परिचालन गरी भारतसँग संवाद अघि बढाएका थिए।
हिउँदमा विद्युत् आपूर्ति सुनिश्चित गर्न मन्त्री श्रेष्ठले प्राधिकरणका सञ्चालक समिति सदस्यसहित सचिवालयका सदस्यलाई दुईपटक दिल्ली पठाएका थिए। उक्त संवादमा भारतबाट विद्युत् आयात गर्ने परिमाण र कार्यविधिबारे सहमति जुटेको थियो।
केही दिनअघि नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीसँग पनि मन्त्री श्रेष्ठले मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा विद्युत्को सहज आपूर्तिबारे छलफल गरेका थिए। यसअघि नेपाल आएका भारतीय ऊर्जा सचिवसँग पनि मन्त्रालयका अधिकारीहरूले यस विषयमा संवाद गरेका थिए। विदेश सचिव मिस्री भारत फर्किएलगत्तै नेपाललाई ३५० मेगावाट विद्युत् उपलब्ध गराउने निर्णय भएको हो।
प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा मन्त्री श्रेष्ठ पनि नयाँदिल्ली जाने तयारीमा छन्। उक्त भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपाललाई हिउँदयामको विद्युत् माग व्यवस्थापन गर्न सहयोग पुग्ने गरी विद्युत् आयातको अनुमति दिएको हो।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार २०८३ मंसिर १ गतेदेखि २०८४ साउन १५ गतेसम्म भारतीय बजारबाट विद्युत् आयात गर्न अनुमति प्राप्त भएको छ।
उनले मन्त्री श्रेष्ठ, उनको टोली, ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणबाट चरणबद्ध संवाद भएपछि भारतले सुक्खायामको पिक आवरमा ३५० मेगावाट विद्युत् उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका छन्। यसले हिउँदमा विद्युत्को माग धान्न र आपूर्ति व्यवस्थापन सहज बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमतिसँगै नेपालले थप ५६ मेगावाट विद्युत् भारत निर्यात गर्न पनि स्वीकृति पाएको छ। कार्यकारी निर्देशक श्रेष्ठले उक्त जानकारी दिएका हुन्।

प्रतिकृया