काठमाडौँ महानगरपालिकाले विद्यालय तहका विद्यार्थीलाई लक्षित गर्दै ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीले ५० हजार रुपैयाँसम्म नगद पुरस्कार पाउनेछन्।
काठमाडौँ जलवायु कार्य सप्ताह २०८३ अन्तर्गत आयोजना हुन लागेको प्रतियोगितामा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन सक्नेछन्। प्रतियोगिताका लागि अधिकतम १ मिनेटसम्मको भिडियो तयार गर्नुपर्नेछ।
काठमाडौँ महानगरपालिकाले जलवायु परिवर्तनको विश्वव्यापी असर न्यूनीकरण गर्न समुदायस्तरबाट गर्न सकिने प्रयासको प्रवर्द्धन तथा व्यक्ति र समुदायको जिम्मेवारीबोध बढाउने उद्देश्यले मङ्सिर ७ देखि १३ गतेसम्म जलवायु कार्य सप्ताह आयोजना गर्दैछ। सप्ताहभर हरेक दिन फरक–फरक कार्यक्रम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।
प्रतियोगितामा काठमाडौँ महानगरपालिकाका स्थायी बासिन्दाका बालबालिका तथा महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन्।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, सात जनालाई जनही १० हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन तथा थप जानकारी लिन महानगरपालिकाले सार्वजनिक गरेको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी रजिस्ट्रेसन गर्न सकिनेछ।


प्रतिकृया