नेपालले बुढीगण्डकी जलविद्युत् आयोजनासहित विभिन्न क्षेत्रमा संयुक्त अरब इमिरेट्स (यूएई) को लगानी भित्र्याउन पहल गरेको छ। यसका लागि नेपालका गृहमन्त्री सुधन गुरुङले यूएईका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग छलफल गरेका छन्।
गत कात्तिक २८ गते अबुधाबीमा भएको भेटवार्तामा दुई देशबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको हो।
भेटका क्रममा गृहमन्त्री गुरुङले बुढीगण्डकी जलविद्युत् आयोजनामा यूएईको लगानीका लागि प्रस्ताव गरेका थिए। यसका साथै कृषि तथा सेवा क्षेत्रको विकास र सुरक्षा प्रविधिमा सहकार्य गर्नसमेत उनले प्रस्ताव राखेका थिए।
दुई मन्त्रीबीच Faceless Policing को अवधारणा, Non-lethal Security Gears को उत्पादन तथा सुरक्षा निकायलाई प्रविधिमैत्री र आधुनिक बनाउने विषयमा पनि विचार आदानप्रदान भएको थियो।
नेपालले अघि सारेका परियोजनामा औपचारिक प्रस्ताव आदानप्रदान गरी आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन्। साथै, आगामी दिनमा दुई देशबीचको आर्थिक तथा अन्य क्षेत्रको सहकार्यलाई थप सुदृढ र विस्तार गर्ने विषयमा पनि छलफल भएको छ।

प्रतिकृया