सरकारले आज कात्तिक ३० गते सार्वजनिक बिदा दिए पनि देशभरका राजस्व कार्यालय खुला रहने भएका छन्। आन्तरिक राजस्व विभागले आइतबार सूचना जारी गर्दै मातहतका सबै कार्यालयलाई आज कामकाज सञ्चालन गर्न निर्देशन दिएको हो।
विभागले राजस्व संकलन र करदातालाई सहजीकरण गर्ने उद्देश्यले ललितपुरस्थित ठूला करदाता कार्यालय, बबरमहलस्थित मध्यमस्तरीय करदाता कार्यालय र देशभरका सबै आन्तरिक राजस्व कार्यालय खुला राख्न भनेको छ।
राजस्व परिचालनका दृष्टिले कात्तिक महिनाको मसान्त भएकाले करदाताको सुविधाका लागि कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको विभागले जनाएको छ।
विभागका अनुसार कात्तिक ३० गते गत आर्थिक वर्षको आय विवरण दाखिला गर्न, आर्थिक ऐन, २०८३ ले प्रदान गरेका छुट सुविधाको उपयोग गर्न, बक्यौता फरफारक गर्न तथा अन्तःशुल्कजन्य वस्तु निष्कासन गर्न सकिनेछ।
विभागका निर्देशक बुद्धिप्रसाद आचार्यले राजस्व संकलन गर्ने बैंकहरूसँग समन्वय गरी कार्यालय सञ्चालनको व्यवस्था मिलाउनसमेत अनुरोध गरेका छन्।
त्यस्तै, एनसीएचएल प्रणालीमार्फत हुने राजस्व संकलनमा आवश्यक सहजीकरणका लागि नेपाल राष्ट्र बैंक र नेपाल क्लियरिङ हाउसलाई पनि जानकारी गराइएको विभागले जनाएको छ।

प्रतिकृया