अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (COP31) मा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका छन्। टर्कीएमा आयोजित सम्मेलनका क्रममा उनले करिब एक दर्जन कार्यक्रममा सहभागिता जनाउँदै जलवायु वित्त, विपद्पछिको ऋणमोचन र नेपालको जलवायु प्राथमिकताबारे अन्तर्राष्ट्रिय मञ्चमा छलफल गरेका छन्।
सम्मेलनमा अर्थमन्त्री वाग्लेले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए। त्यस्तै, सात वर्षअघि स्थापना भएको ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरुको गठवन्धन’ मा नेपाललाई १०५औँ सदस्यका रूपमा सहभागी गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ (Fiscal Space for Resilience) सम्बन्धी नीतिगत अवधारणा छलफलका लागि प्रस्तुत गरेका थिए।
जलवायु विपद्पछि प्रभावित मुलुकको ऋणमोचनका लागि विश्वव्यापी अभियान सञ्चालन गर्दै आएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्लीसँग पनि अर्थमन्त्रीले छलफल गरेका थिए। त्यस्तै, विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने जी–२० समूहको अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको छ।
नेपालले COP31 मा उठाएका जलवायुका विषयलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउन अर्थमन्त्री वाग्लेले पाँच जना प्रभावशाली जलवायु दूतहरूसँग पनि छलफल गरेका थिए। छलफलमा बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमैकाका डेल वेबर र संयुक्त राष्ट्रसंघीय महासचिवका दूत सेल्विन हार्ट सहभागी थिए।
यसैगरी, हरित जलवायु कोषको उच्च नेतृत्वसँग नेपालको आगामी कार्यक्रम तथा सहकार्यका विषयमा छलफल भएको थियो। जेनेभास्थित विश्व मौसम विज्ञान संगठनको जलवायु मापन कोषसम्बन्धी कार्यक्रममा पनि अर्थमन्त्री वाग्लेले विशेष सम्बोधन गरेका थिए। उक्त कोषसम्बन्धी कार्यक्रमबाट नेपालले समेत लाभ लिँदै आएको छ।
जलवायु र अर्थशास्त्रका क्षेत्रमा ख्याति कमाएका प्राध्यापक योहान रक्स्त्रम र प्राध्यापक निकलस स्टर्नसँग पनि अर्थमन्त्रीले भेटघाट गरेका थिए।
सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले न्युयोर्क टाइम्सलाई अन्तर्वार्तासमेत दिएका थिए। त्यस्तै, सन् २०२६ का लागि टाइम पत्रिकाले छनोट गरेका जलवायु मुद्दासम्बन्धी विश्वका १०० प्रभावशाली व्यक्तित्वहरूको सम्मानमा आयोजित कार्यक्रममा पनि उनी सहभागी भएका थिए।

प्रतिकृया