नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक द्रुत रेल सेवा सञ्चालन हुने भएको छ। रामायण परम्परासँग जोडिएका नेपाल र भारतका दुई धार्मिक सहरलाई रेलमार्गबाट जोड्न लागिएको हो।
भारतको रेल मन्त्रालयले शनिबार जनकपुरधाम र अयोध्याबीच नयाँ रेल सेवा सञ्चालन गर्ने औपचारिक घोषणा गरेको छ। प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंसिर ७ गते नयाँदिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाह मंसिरको पहिलो साता भारत भ्रमणमा जाने तयारीमा छन्।
भारतको रेल मन्त्रालयका अनुसार माता सीताको जन्मस्थलका रूपमा परिचित जनकपुरधाम र भगवान् रामको जन्मस्थल अयोध्यालाई रेलमार्गबाट जोड्ने उद्देश्यले सेवा सुरु गर्न लागिएको हो। मन्त्रालयले भारत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउन यो रेल सेवाले सहयोग गर्ने जनाएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारत र नेपालबीच शताब्दीयौँ पुरानो सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक सम्बन्ध छ । धार्मिक परम्परा र सीमापारका समुदायबीचको सम्बन्ध यस साझेदारीका अभिन्न अंग हुन् । नयाँ रेल सेवाले रेल सम्पर्कमार्फत दुई देशका समुदायलाई अझ नजिक ल्याउँदै द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्नेछ ।’
करिब ६०४ किलोमिटर लामो रेलमार्ग हुँदै जनकपुरधामबाट अयोध्यासम्म रेल सञ्चालन हुनेछ। रेल भारतको जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुर हुँदै अयोध्याधाम पुग्नेछ।
रेल मन्त्रालयले सार्वजनिक गरेको तालिकाअनुसार रेल सातामा एकपटक सञ्चालन हुनेछ। जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्याबाट प्रत्येक सोमबार रेल छुट्नेछ।
भारतीय रेल्वेले जनकपुरधाम र अयोध्याबीच ‘नयाँ बन्दे भारत रेल्वे’ सञ्चालनका लागि प्राविधिक परीक्षणसमेत गरिसकेको छ। परीक्षणका क्रममा डब्ल्यूडीपी–४ डी ४०३७० नम्बरको रेल अयोध्याबाट जनकपुरधाम ल्याइएको थियो।
रेल सेवा उद्घाटनका क्रममा उत्तर प्रदेशकी राज्यपाल आनन्दीवेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ, केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव, उपमुख्यमन्त्री केशवप्रसाद मौर्य र ब्रजेश पाठकलगायत उच्च भारतीय अधिकारीले हरियो झन्डा देखाएर सेवा सञ्चालनको सुरुवात गर्नेछन्।
हाल नेपालले जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर दूरीमा रेल सेवा सञ्चालन गर्दै आएको छ।
भारत र नेपालबीच यसै वर्ष जुन महिनामा सीमापार रेल सम्पर्क विस्तार गर्ने विषयमा छलफल भएको थियो। विशेषगरी जनकपुरधाम–अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालन तथा रेल क्षेत्रको द्विपक्षीय सहकार्यका विषयमा दुवै देशबीच छलफल भएको थियो।

प्रतिकृया