युनाइटेड इदी मर्दी एण्ड आर.बी. हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २५ गते शुक्रबार पोखरामा १७औँ वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार सभा पोखरा–१७, घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजे सुरु हुनेछ।
कम्पनीले बोनस सेयरतर्फ २ करोड ४१ लाख ९३ हजार २६० रुपैयाँ बराबरको सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै, कर प्रयोजनका लागि १२ लाख ७३ हजार ५३३ रुपैयाँ २१ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
दुवै लाभांश आर्थिक वर्ष २०८२/८३ को आषाढ मसान्तसम्मको सञ्चित मुनाफाबाट वितरण गर्न लागिएको हो।
सभामा सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत हुने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ। त्यस्तै, सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा वित्तीय विवरणहरू पारित गर्ने प्रस्ताव छ।
यसका साथै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभामा पेस हुनेछ।
सभाका विशेष प्रस्तावअन्तर्गत कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र बोनस सेयर जारी गर्न आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ। यसका लागि विद्युत् नियमन आयोग, विद्युत् विकास विभाग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र कम्पनी रजिस्ट्रारको कार्यालयलगायतका निकायमा आवश्यक काम गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव गरिएको छ।
बुक क्लोज
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १६ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। त्यसअनुसार मंसिर १५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई प्रचलित कानुनबमोजिम सेयर नामसारी भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिकृया