सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सेयरधनीलाई कुल ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लाभांशमध्ये ५ प्रतिशत नियमित नगद लाभांश र ०.२६३ प्रतिशत कर प्रयोजनका लागि वितरण गर्न लागिएको हो।
कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार उक्त प्रस्ताव पारित गर्न मंसिर २३ गते बुधबार १९औँ वार्षिक साधारण सभा बोलाइएको छ। सभा दाङको घोराही उपमहानगरपालिका–१५ स्थित होटल माला इनमा बिहान १० बजे बस्नेछ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को आषाढ मसान्तसम्म कायम सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश र ०.२६३ प्रतिशत कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव सभामा पेस गर्नेछ।
सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरणहरू पारित गर्ने प्रस्ताव पनि छ।
यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभामा पेस हुनेछ। सञ्चालक समितिले M. Verma & Associates, Chartered Accountants लाई लेखापरीक्षक नियुक्त गर्न सिफारिस गरेको छ।
कम्पनी ऐन, २०६३ को दफा ९३ अनुसार कम्पनीका आधारभूत सेयरधनी वा सञ्चालकसँग सम्बन्धित संस्थासँग भएका कारोबार अनुमोदन गर्ने प्रस्ताव पनि साधारण सभाको कार्यसूचीमा छ। साथै, आर्थिक वर्ष २०८२/८३ मा सञ्चालक समितिबाट भएका निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव रहेको छ।
विशेष प्रस्ताव
साधारण सभामा कम्पनीको प्रबन्धपत्रको दफा ६ तथा नियमावलीको नियम २७ संशोधन गर्ने प्रस्ताव पेस हुनेछ।
त्यस्तै, कम्पनीले हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफा तथा फ्रि रिजर्भको कुल रकमभन्दा बढी हुने गरी विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ। भविष्यमा कम्पनी सञ्चालनका क्रममा सो सीमाभन्दा बढी ऋण लिनुपर्ने अवस्था आएमा त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा पेस गरिनेछ।
बुक क्लोज
कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर १० गते एक दिन सेयर दाखिल खारेज बन्द (बुक क्लोज) गर्ने भएको छ।
यसअनुसार मंसिर ९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई प्रचलित कानुनबमोजिम कम्पनीको सेयर रजिस्ट्रार एनएमबि एस क्यापिटल लिमिटेडमा रहेको सेयरधनी दर्ता किताबमा कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा सहभागी हुन, मतदान गर्न र अन्य कामकारबाहीमा भाग लिन पाउनेछन्।

प्रतिकृया