सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। सर्वोच्चले कार्कीलाई तत्काल पुनर्बहाली गर्न अल्पकालीन अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ।
बुधबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। अदालतले कार्कीलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली नगर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ।
त्यस्तै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा उपस्थित हुन पनि आदेश दिइएको छ। अदालतले विपक्षीहरूको लिखित जवाफ प्राप्त भएपछि मुद्दाको नियमित सुनुवाइका लागि प्रक्रिया अघि बढाउनेछ।
सरकारले गत कात्तिक १८ गते दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो।
मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी भएको र आफू अन्यायमा परेको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले आफूलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्न माग गरेका छन्।

प्रतिकृया