पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको र स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ।
मन्त्रालयले आज प्रकाशित गरेको सूचनाअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाउने निर्णय गरिएको हो।
सेवाबाट हटाइएकामध्ये ६ जना कार्यालयमा हाजिर नभएको कसुरमा कारबाहीमा परेका छन्। उनीहरूमा आस्था आचार्य, पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, नरेश थापा र रमेश प्रसाद पौडेल रहेका छन्।
त्यस्तै, स्वीकृति नलिई बिदामा बसेको कसुरमा पदमेन्द्रप्रसाद श्रेष्ठलाई पनि सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले २०८३ कात्तिक २० गतेको निर्णयअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाएको सूचनामा उल्लेख छ।


प्रतिकृया