भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ। मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नभएको र नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइएको भन्दै गाउँपालिकाको आर्थिक अधिकार रोक्का गरेको हो।
मन्त्रालयका अनुसार गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको अन्यत्र सरुवा गरिएको थियो। तर, सरुवा भएका कर्मचारी नयाँ कार्यालयमा हाजिर नभई साविककै गाउँपालिकामा कार्यरत रहँदै आएका थिए।
यसैबीच, मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएका कर्मचारीलाई समेत गाउँपालिकाले हाजिर गराएको थिएन। सरुवा निर्णय कार्यान्वयन नगरी पुरानै कर्मचारीलाई निरन्तर काममा लगाइएको र नयाँ अधिकृतलाई जिम्मेवारी नदिइएको विषयमा मन्त्रालयले आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गर्ने निर्णय गरेको हो।
मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन गाउँपालिकालाई निर्देशन दिएको छ।
त्यस्तै, गाउँपालिकाको आर्थिक जिम्मेवारी रद्द गरिएको जानकारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई गराउँदै मन्त्रालयले खाता सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउनसमेत आग्रह गरेको छ।

प्रतिकृया