लक्ष्मी सनराइज बैंक लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने भएको छ।
बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको ३३३औँ बैठकले गत आर्थिक वर्षको नाफाबाट कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित २६औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो।
प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश रहेको छ। बैंकले १३ करोड ३९ लाख ५ हजार ८१७ कित्ता बोनस सेयर वितरण गर्नेछ। त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ६ करोड ९६ लाख ३१ हजार २५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।
बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन सक्नेछन्।
बैंकको २६औँ वार्षिक साधारणसभा मंसिर २५ गते बिहान १० बजे काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा आयोजना हुनेछ।
बैंकको हालको चुक्ता पूँजी २६ अर्ब ७८ करोड ११ लाख ६३ हजार ४५८ रुपैयाँ रहेको छ।

प्रतिकृया