मोदी इनर्जी लिमिटेडले मंसिर २५ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको ७४औं बैठकले काठमाडौंको नक्सालस्थित अम्रपाली ब्यांकेटमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो।
सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन र सोही अवधिको वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेस हुनेछ। वित्तीय विवरणमा वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूची समावेश छन्।
त्यस्तै, आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। लेखापरीक्षण समितिको सिफारिसअनुसार नेहा एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गर्ने प्रस्ताव गरिएको छ। उक्त लेखापरीक्षक पुनः नियुक्तिका लागि योग्य रहेको कम्पनीले जनाएको छ।
सभामा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावसमेत पेस हुनेछ।
मंसिर ११ गते बुक क्लोज
कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर ११ गते सेयर दाखिल खारेज बन्द (बुक क्लोज) गर्ने भएको छ। त्यसैले मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कम्पनीको सेयर रजिस्ट्रार एनएमबि क्यापिटल लिमिटेडमा रहेको सेयरधनी दर्ता किताबमा कायम भएका सेयरधनीले सभामा सहभागी हुन र मतदान गर्न सक्नेछन्।

प्रतिकृया