जिल्ला प्रहरी परिसर काठमाडौंले इनम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धानबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरीले अनुसन्धान अधिकारीको हवाला दिँदै अनुसन्धानसँग असम्बन्धित मोबाइल लोकेसनलगायत अप्रमाणित विषय सार्वजनिक गरिएको भन्दै त्यस्ता सामग्रीले अनुसन्धान प्रभावित पार्न सक्ने जनाएको हो।
बुधबार जारी प्रेस विज्ञप्तिमा प्रहरीले उक्त मुद्दाको अनुसन्धान प्रचलित कानुन र प्रक्रियाअनुसार गोप्य रूपमा भइरहेको स्पष्ट पारेको छ। अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको प्रहरीको भनाइ छ।
अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न प्रहरी प्रतिबद्ध रहेको जनाउँदै मुद्दासँग सम्बन्धित सूचना तथा सामग्री प्रकाशन गर्नुअघि आधिकारिकता पुष्टि गर्न पनि आग्रह गरेको छ।
प्रहरीले अनुसन्धानको संवेदनशीलता र कानुनी व्यवस्थाविपरीत सामग्री सम्प्रेषण गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भन्दै सचेत गराएको छ।


प्रतिकृया